
बूढीगण्डकीको काम थाल्न के ले रोक्यो ?
१२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको चर्चा चलेको आज १२ बर्ष पूरा भयो । आर्थिक बर्ष २०६९/०७० देखि बूढीगण्डकीको नाममा राज्यको ढुकुटीबाट बजेट बगेको बग्यै छ । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनअनुसार अहिलेसम्म करिब ७० अर्ब रुपैयाँ बूढीगण्डकीको नाममा बगिसकेको छ । नेपाल जस्तो अति गरिब देशको यो बजेट धेरै ठूलो हो तर, आयोजनाको जगसमेत खनिएको छैन ।
आठबर्षमा सम्पन्न गर्ने निर्णय भएकामा १२ बित्दा पनि सिलान्याससम्म नहुनु, जनतासंग यही आयोजनाको नाममा पेटूोलमा प्रतिलिटर रु. १० रुपैयाँ असुली गरिरहनु, लगानी मोडालिटीको टुंगो नलाग्नु, बजेट भने खर्च भएको भयै हुनु दुखद विषय हो ।
अब सरकारले यो आयोजना निर्माण गर्न सकिँदैन भने सकिँदैन भनेर भन्ने आँट गर्नुपर्छ, सकिन्छ भने कत्तिपनि ढिला नगरी आयोजना निर्माणको काम सुरु गर्नुपर्छ । यस क्षेत्रका बासिन्दाको धैर्यताको बाँध टुट्न लागिसकेको छ । अहिले देशमा बलियो सरकार छ । यदि विदेशी शक्तिले प्रभावित पारेर आयोजनाको काम सुरु हुन नदिएको हो भने पनि अहिलेसको सरकार कुनै पनि देशको दुश्प्रभावमा छैन ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भनेझैँ बिगतको सरकारले भ्रष्टाचार गरेर आयोजना अघि बढाउन नसकेको हो भने अहिलेको सरकारले भ्रष्टाचार नगर्ने भनेको छ । अब त सुरु हुनुपर्ने हो । किचाहिँ आयोजनाको
जग हाल्न केले रोकिरहेको छ जनतासामु जस्ताको तस्तै भनिदिनु पर्छ ।
भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले काम गर्न नसकेको भनी यो सरकारले पनि र सर्वसाधारण नागरिकले पनि बिगतको सरकारलाई सत्तोसराप गरेका थिए । यो सरकार काममा केन्द्रित भनेर देवत्वकरण गरेको पनि हो । यदि यसो हो भने बूढीगण्डकीको काम अघि बढाउन के ले रोक्यो ?




