| बिहिबार, जेष्ठ ६, २०८३

धमाधम पालिका अधिवेशन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले धमाधम पालिका अधिवेशन सुरु गरेको छ । हालसम्म जिल्लाको भिमसेनथापा र सहिदलखन गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको रास्वपा गोरखाका सचिव मिलन रानाले बताए । चुुमनुब्रीको भेलालले तदर्थ समिति गठन गरेको छ ।

उनका अनुसार भिमसेनथापामा रामचन्द्र पोखरेल र सहिदलखनमा पुष्पाखर लामिछानेको सभापतित्वमा पालिका समिति गठन भएको हो । चुमनुब्रीमा धावा ग्याल्जेन लामाको संयोजकत्वमा तदर्थ समिति बनेको छ ।

पालुङटार नगरपालिकाको अधिवेशन यही जेठ ९ गते र गोरखा नगरपालिकामा जेठ १० गते हुने उनले जानकारी दिए । यही जेठ १७ गतेभित्र जिल्लाका ११ वटै स्थानीय तहहरुमा अधिवेशन सम्पन्न गरेर पालिकास्तरीय समिति गठन गर्ने तयारी रहेको रानाको भनाइ छ ।

‘केन्द्रको निर्देशन बमोजिम सके यही जेठ २३ र २४ भित्र, नसके यो महिनाभित्र जिल्ला समिति गठन हुन्छ’, उनले भने ।
रास्वपा केन्द्रिय कार्यालयले गोरखामा अधिवेशन सम्पन्न गराउनका लागि गोरखा क्षेत्र नं १ का सांसद सुधन गुरुङ, क्षेत्र नं २ का सांसद एवं पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी, पार्टीकी केन्द्रीय सदस्य एवं समानुपातिक सांसद एलिजा गुरुङ, सांसद शोखा खनाल तथा पार्टीको केन्द्रिय विभागको तर्फबाट ध्रुवप्रसाद दाहाल, कृष्ण थापा र संघीय नेतृत्व मञ्चको तर्फबाट हरिशरण आचार्यलाई खटाएको छ ।

रास्वपाले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई वडा, पालिका, जिल्लाको भेला तथा अधिवेशन गराउन जिल्ला–जिल्लामा खटाएको हो ।

असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको रास्वपाले सबै संरचनाको अधिवेशनको मिति तोकेको छ । तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते गरिएको थियो । वैशाख २० गते अघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते गरिएको छ । अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ ।

पालिका भेलाका लागि जेठ ९ गतेको समय तोकिएको छ । पालिका अधिवेशन जेठ १० र १७ गतेका लागि समय निश्चित गरिएको छ । जिल्ला अधिवेशन २३ र २४ गतेको लागि तोकिएको छ । प्रदेश अधिवेशन जेठ २६ गतेबाट सुरु गरेर असार १ गते सक्ने गरी कार्यतालिका बनाइएको छ ।

केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिहरुलाई कार्यादेश तोकिएको छ । वडा, पालिका, जिल्ला भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला बोलाउन सहजीकरण गर्नेछन् । साथै, पार्टी संरचना नबनेको स्थानमा तदर्थ समिति बनाउने र गठन भइसकेका स्थानमा अधिवेशन गराउन समन्वय केन्द्रीय प्रतिनिधिले गर्नेछन् । वडा र पालिकामा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन गर्न सकिने गरी रास्वपाले निर्णय गरेको छ ।

प्रतिनिधि छनोट गर्दा हरसम्भव सांसदहरुलाई आफ्नै जिल्ला तोकिएको छ । मन्त्रीहरुलाई भने महाधिवेशनको काममा लगाइएको छैन । क्षेत्र धेरै भएका जिल्लामा प्रतिनिधि पनि बढी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्