
बूढीगण्डकी आयोजना, लार्के र पन्थडिही सडकको काम पनि सुस्तै
बूढीगण्डकी आयोजनाको थपिएको म्याद सकिन तीनबर्ष बाँकी, प्रगति जम्मा १६ प्रतिशत
१२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले आर्थिक बर्ष २०६९/०७० मा प्रक्रिया अघि बढाएको थियो । त्यतिबेला सरकारले आयोजना आठबर्षभित्र अर्थात आर्थिकबर्ष २०७७/०७८ मा सम्पन्न गर्ने घोषणा गरेको थियो । तर सम्पन्न गर्ने मितिसम्म सिलान्यास पनि हुन सकेन ।
बरु आर्थिक बर्ष २०८५/०८६ सम्मका लागि म्याद थप गर्यो । थपिएको म्याद सकिन जम्मा तीनबर्ष बाँकी छ, तर हालसम्म सिलान्यास पनि गरिएको छैन । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले जम्मा १६.५ प्रतिशत मात्र प्रगति भएको देखाएको छ । यो पनि मुआव्जा बाँडेको र कार्यालय सञ्चालन गरेको प्रगति मात्र हो ।
सुरुमा दुई खर्ब ६० अर्ब लागत अनुमान गरिएको थियो । म्याद थप गर्दा अनुमानित लागत पनि बढाएर तीन खर्ब ९८ अर्ब बनाइएको थियो ।
जग पनि नखन्दै बूढीगण्डकीको नाममा ६९ अर्ब ४६ करोड अर्थात १६.५ प्रतिशत रकम खर्च भइसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो खर्च पनि गत आर्थिक बर्ष २०८१/०८२ को हो । एकबर्ष यता खर्चमा वृद्धि भइसकेको छ ।
त्यस्तै बेनिघाट आरुघाट लार्के सडकको प्रगति पनि कछुवा गतिमा भएको छ । महालेखाको ६३ औं प्रतिवेदनका अनुसार अहिलेसम्म सो सडकमा एक अर्ब २४ करोड रुपैयाँ खर्च भइसकेको छ । तर प्रगति भने जम्मा ४३.४८ प्रतिशत मात्र रहेको छ ।
सो सडकमा नेपाली सेनाले काम गर्न सुरु गरेको २०७४ सालदेखि हो । २०८९ सालसम्म ९२ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखेको सरकारले हालसम्म ४० किलोमिटर मात्र ट्रयाक खनेको छ । गत आर्थिक बर्ष यस सडकका लागि सात करोड ६ लाख मात्र प्राप्त भएकोमा नेपाली सेनाले दुई किलोमिटर ट्रयाक खनेको थियो ।
त्यस्तै भारतीय एक्जिम वैंकको ऋण सहयोगमा काम सुरु गरिएको पन्थडिही कटहरे हर्मी सडकको २०.६ किलोमिटर कालोपत्रे गर्ने कामको प्रगति ८७.६३ प्रतिशत भएको छ । २०८२ को भदौभित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ २०७९ सालबाट कालोपत्रको काम सुरु भएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आगामि असार ७ सम्म म्याद थप भएको छ ।




