| मङ्लबार, जेष्ठ ४, २०८३

नौली खोला मोटरेबल पुलले ल्याएको खुशी

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलेगोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला हुँदै उत्तरी गोरखाका विभिन्न गाउ्रँबस्ती पुग्ने मोटरेबल पुल निर्माण गरेको छ । धार्चे ७ नौलीखोलामा चार करोड ३४ लाख लागतमा ३५ मिटर लामो, ८.४० मिटर फराकिलो पुल निर्माण गरेको हो ।

सो पुल २०८१ साउन २२ गते निर्माण सम्पन्न भइसक्नुपर्ने थियो, तर निर्धारित समयमा काम नभएपछि सरकारले २०८३ साउन २२ गतेसम्मका लागि पुनः म्याद थप गरेको थियो । त्यतिबेला पनि पुल नबनेपछि पुनः थपिएको समयमा पुल निर्माण सम्पन्न भएको हो । सो पुल निर्माण भएपछि अब उत्तरी गोरखा जाने सडक बाह्रै महिनाका लागि खुल्ला हुनेभएको छ । यसअघि सो ठाउँबाट सवारी साधन पार गर्न नसक्दा यात्रुहरु त्यहाँ ओर्लेर खोला तरेर पुनः पारिपट्टि अर्को गाडी परिवर्तन गरेर जान बाध्य थिए । सामान पनि बोकेर पारि तार्नुपर्ने बाध्यता थियो ।

अब यहाँ पुल बनेपछि तातोपानीसम्म हिउँद बर्खै सवारी साधन पुग्न सक्ने भएको छ । अब बर्खाका बेला पनि उत्तरी गोरखा जानेआउनेलाई सजिलो हुने भयो भने खाद्यान्न लगायतका सामान लैजान पनि सजिलो हुने भयो । दोभाननेरको ठूलो खोला, कालोभीर क्षेत्रको पहिरोले अबरोध गर्न सक्छ, तर तातोपानीसम्म यातायातका साधन चल्ने भएको छ ।
यसले गर्दा स्थानीयबासी खुशी भएका छन् ।

यसअघि माछाखोलामा पनि नेपाली सेनाले बेलीब्रिज निर्माण गरिसकेको छ । खोर्लाबेशीस्थित निम्रुङखोलामा पनि बुढीगण्डकी जलविद्युत आयोजनाले बेलिब्रिज निर्माण गरिसकेको छ । अब केही समस्या फुङ्गी खोलामा र दोभाननेरको खोलामा हुनसक्छ । अब पालिका तथा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यहरुले यी ठाउँका समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्