| मङ्लबार, जेष्ठ ४, २०८३

अनलाइन ठगी गरेको आरोपमा वडा सदस्यसहित तीनजना पक्राउ

अनलाईन ठगी गरेको आरोपमा प्रहरीले गोरखाका वडा सदस्यसहित तीनजनालाई पक्राउ गरेको छ । चन्द्रनिगारहपुर २ रौतहटकी रेनुमाया थिङको जाहेरीका आधारमा गोरखाको भीमसेनथापा गाउँपालिका २ का वडासदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका ७ का यदु पाण्डे र भीमसेनथापा गाउँपालिका ४ की कोपिला लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाण्डे अन्नपूर्ण सहकारी संस्थाका व्यवस्थापक थिए । उनीहरुविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको रौतहटका जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए । उनीहरुमाथि ७० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

उनीहरुले चिठ्ठा परेको भन्दै आफूलाई अनलाइन ठगी गरेको आरोप थिङले लगाएकी छन् । उनीहरुबाट आफू ७० लाख रुपैयाँ ठगिएको उनले प्रहरीमा बयान दिएकी छिन् ।

प्रहरीका अनुसार पाण्डे र लामिछानेद्वयले गोरखाको भीमसेन थापा गाउँपालिकाका विभिन्न व्यक्तिहरुलाई कर्जा मिलाइदिने भन्दै एनआईशी एशिया र गरिमा विकास वैंकमा खाता खोल्न लगाउने गरेका थिए । सो खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा गर्ने र प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

‘गाउँलेहरुलाई कर्जा मिलाइदिन्छौं भन्दै एनआईसी एशिया र गरिमा विकास वैंकमा धमाधम खाता खोल्दै १०–१० हजार रुपैयाँ दिएर पठाउँदै गरेका रहेछन्’, रौतहटका जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजालले भने, ‘अनि ठगीको रकम उनीहरुकै खातामा जम्मा गर्ने गरेका रहेछन् ।’ उनीहरु पक्राउ परेपछि त्यसरी खोलिएका खाता धमाधम बन्द गर्न थालिएको प्रहरीले जनाएको छ । आफूहरुलाई भ्रममा पारी खाता खोल्न लगाइएको भन्दै भीमसेनथापा गाउँपालिका ४ का बासिन्दा आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्