
७० बर्षमा ३,६४३ जनाले आरोहण गरे मनास्लु
विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहण गर्न सुरु भएको ७० बर्ष पूरा भयो । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्याल्जेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए ।
त्यसयता यो हिमाल तीनहजार छसय ४३ जनाले आरोहण गरिसकेका छन् । पर्यटन विभागले सन् २०२५ मा तयार गरेको अभिलेखअनुसार विश्वको आठौं र नेपालको सातौं अग्लो मनास्लुको हालसम्म ३६ सय ४३ जनाले सफल आरोहण गरेका हुन् ।
प्रथम पटक आरोहण गरेको मे ९ को दुई दिनपछि अर्थात मे ११ मा जापानी नागरिक मिनोरु हिगेता र किचिरो कातोले सफल आरोहण गरेका थिए । उनीहरु चारैजनाको टिमको नेतृत्व भने अर्का जापानी नागरिक योकु माकीले गरेका थिए । तर उनी आरोहण गर्न सफल नभएको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।
त्यसपछि १५ बर्षसम्म कसैले पनि आरोहण नगरेका मनास्लुको सन् १९७१ मा मात्र फेरि आरोहण गर्न सुरु गरिएको थियो । सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको भने हालसम्म ९,०७७ जनाले आरोहण गरेका छन् ।
मनास्लु हिमाल आरोहण गर्न थालेको ७० बर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा हीरक जयन्ती मनाइएको छ ।
नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजनासंगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामा लगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।
साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री १ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, र अन्य आरोहीहरु नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरियो ।
पर्वतारोहण संघले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटो लोकार्पण गरियो ।




