| बिहिबार, बैशाख ३०, २०८३

गोरखा नगरपालिका भित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन

जिल्लाको गोरखा नगरपालिकाले पालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आगामी जेठ १९ गतेभित्र सरकारी तथा सार्वजनिक जग्गा, नदी वा खोलाको वहाव क्षेत्रको जग्गा, ऐलानी, पर्ती जग्गामा अनुमति बिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो ।

पालिकाभित्र अवस्थित १२० घरधुरी भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी तथा ४५१ घरधुरी अव्यवस्थित बसोबासीहरुको हकमा व्यवस्थापनका लागि जग्गा उपलब्ध गर्ने प्रयोजनका लागि राष्ट्रिय भूमि समस्या समाधान आयोग, जिल्ला समिति गोरखामा विवरण पठाइसकेको पालिकाले जनाएको छ । नगरपालिकाको यही वैशाख २५ गते बसेको कार्यपालिका बैठकले पालिकाभित्रको सरकारी तथा सार्वजनिक जग्गाभित्र अनुमति बिना बनेका संरचनाहरु हटाउने निर्णय गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बैशाख १७ गते सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धमा सबै स्थानीय तहहरुलाई परिपत्र समेत गरेको थियो । गोरखा नगरपालिकाले पनि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा जोखिम पूर्ण स्थानमा बसोबास नगर्न पालिकाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्