
मनासलु र ल्होत्से हिमालका प्रथम आरोही उर्केन शेर्पा
विश्वको चौथो अग्लो ल्होत्से र आठौँ अग्लो मनास्लु हिमालका प्रथम आरोही हुन् सोलुखु्म्बुका उर्केन शेर्पा । उनले ८,५१६ मिटर अग्लो ल्होत्से र ८,१६३ मिटर अग्लो मनास्लु सबैभन्दा पहिले आरोहण गरेका थिए ।
खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङका शेर्पाले यी दुवै हिमाल जम्मा २० दिनको अन्तरालमा आरोहण गरेका थिए । उनको साथमा सन् १९५६ मे ९ मा जापानी आरोही तोसीयो इमानिसीले मनास्लु आरोहण गरेका थिए भने मे २९ मा ल्होत्से आरोहण गरेका थिए ।
गत शनिबार अर्थात मे ९ मा चुमनुब्री गाउँपालिकाले मनास्लु हिमालको हीरक जयन्ती मनायो । सो अवसरमा प्रथम आरोहीहरुको शालिक अनावरण ग¥यो तोसियो इमानिसीका छोरा कुनिओ इमानिसी र उर्केन शेर्पाका छोरा छिरिङ शेर्पालाई सम्मान ग¥यो ।
२५ वर्षअघि स्वर्गारोहण भएका बुबाको नामको सम्मान पाउँदा सोलुखुम्बुका छिरिङ शेर्पा भावुक बने । सोलुखुम्बुबाट झण्डै १६० किलोमिटर टाढा मनासलुको फेद सामागाउँमा बुबा उर्केनको शालिक देखेपछि छिरिङ भावुक बनेका हुन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँ छिरिङको लागि नयाँ ठाउँ भने होइन ।
आफू हुर्कदै गर्दा बुबाले मनासलु र सामागाउँको कहानी सुनाउने गरेको उनी बताउँछन् । छिरिङ आफैले पनि कयौँ हिमाल आरोहण गरेका छन् । ५५ वर्षीय छिरिङ पेशाले पर्यटन व्यवसायी हुन् । पर्यटकको ‘पिक आवर’मा बुबाको नाममा सम्मान गर्ने भन्ने थाहा पाउने बित्तिकै आफू गोरखा आएको छिरिङ बताउँछन् ।
फागुनमा नेपाल पर्वतारोहण संघबाट आफ्नो बुबा उर्केन शेर्पा सम्मानित हुने खबर पाएको उनले सुनाए । ‘गोरखामा बुबाको मूर्ति बनेको छ । मे ९ मा मनासलु डे’मा उद्घाटन हुन्छ भनेर फोन आयो, सुरुमा त विश्वासै लागेन । कुरा बुझ्दै जाँदा साँच्चै रहेछ’, उनले भने, ‘अहिले सोलुखुम्बुमा पर्यटक खचाखच छन्, बुबाको सम्मान हुने भन्ने कुरा थाहा पाएपछि उताको सबै काम धन्दा छोडेर आएँ ।’
सोलुखुम्बुबाट टाढाको गोरखा जिल्लाको पनि उत्तरी भेगको गाउँमा बुबाको मूर्ति देख्दा आफू निकै गौरवान्ति र भावुक भएको उनले बताए । आफ्नो बुबा उर्केन शेर्पा गोरखाको मनासलु हिमाल र सोलुखुम्बुको ल्होत्से हिमाल आरोहण गर्ने पहिलो व्यक्ति रहेको उनले जानकारी दिए । उर्केन शेर्पाले सन् १९५६ मे ९ मा पहिलो पटक मनासलु हिमाल आरोहण गरेका थिए । बुबाले मनासलु हिमाल आरोहणको २० दिनभित्रै मे २९ मा सोलुखुम्बुको ल्होत्से हिमाल आरोहण गरेको छिरिङले बताएका छन् ।
‘यी सबै मितिहरु बुबाले आफ्नो डायरीमा टिपेर राख्नु भएको छ । उहाँहरु बिदेशीलाई लिएर जानुभएको हो, तर उहाँहरुको नामचाँहि आएन’, छिरिङ शेर्पाले भने । सन् १९५६ मा उर्केन शेर्पा सहितको टिम धादिङको नौँबिसेबाट पैदल हिँडेर मनासलु आरोहण गर्न आएका थिए । बुबाहरुले करिब चार महिना कठिन अभ्यास गरेर मनासलु हिमालको सफल आरोहण गरेको छिरिङ सुनाउँछन् ।
‘त्यतिबेला अहिलेको जस्तो अक्सिजन, अत्याधुनिक कपडा, जुत्ता केही हुँदैन थियो । हाम्रो बुबाले याकको छालामा विश्वकर्माले फलाम टाँसेर बनाएको जुत्ता लगाएर हिमाल चढ्नुभएको हो’, विगतका दिनहरु सम्झँदै छिरिङले भने ।
सन् १९२७ जुलाई ३१ मा सोलुखुम्बुको खुम्जुङ गाउँमा जन्मिएका उर्केन शेर्पाले नेपालको भौगोलिक नक्सा(टोपोग्राफिक म्याप) निर्माणमा पनि योगदान पु¥याएका छन् । बुबा उर्केनले जर्मनीका टोलीहरुसँग मिलेर नेपालको भौगोलिक नक्सा निर्माण गरेको उनका छोरा छिरिङ शेर्पाले समेत दाबी गरे । यद्यपी राज्यले त्यसको लेखाजोखा नगरेको उनको गुनासो छ ।
उर्केन शेर्पाको सन् २००१ अक्टोबर ४ मा ७४ वर्षको उमेरमा निधन भएको थियो । उनले आफ्नो सम्पूर्ण जीवन नेपालको हिमाली क्षेत्रलाई विश्वसामु चिनाउनमा व्यतित गरेको छिरिङको भनाई छ ।
‘उहाँ बित्नुभएको २५ वर्षपछि उहाँको शालिक बन्यो, उहाँको नाममा सम्मान मिल्यो । यही कुरा उहाँ हुँदै भएको भए कति खुशी हुन्थ्यो होला भनेर भावुक भएँ’, उर्केनका छोरा छिरिङ भन्छन्, ‘ढिलै भएपनि राज्यले उहाँको कामलाई सम्मान ग¥यो, म उहाँको छोरा हुन पाउँदा निकै गर्व गरिरहेको छु ।’




