
गोरखा नगरपालिकाका सबै विद्यालय आइतबार पनि खुल्ने
सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि गोरखा नगरपालिकाले भने सबै विद्यालयहरु आइतबार पनि सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको गत शुक्रबार सम्पन्न बैठकले माताहतका सामुदायिक तथा निजी विद्यालयहरु आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।
आइतबार बिदा गर्दा पाठ्यक्रम अनुसार ‘क्रेडिट आवर’ नपुग्ने भएकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा समितिका संयोजक रहमतुल्ला मियाँले जानकारी दिए ।
‘संघीय सरकारको निर्णय बमोजिम ५ दिनमात्र सञ्चालन गर्दा साविक पाठयोजनाहरु समयमा नै सम्पन्न गर्न बाधा पुग्ने देखिएकाले संघीय सरकारबाट हाल कायम पाठ योजना एवं पाठ्यभार अनुरुप पठनपाठन सहजीकरण गर्न हरेक आइतबार अतिरिक्त कक्षा सञ्चालन गर्न व्यवस्था मिलाउन शिक्षा युवा खेलकुद शाखाबाट विद्यालयहरुलाई पत्राचार र समन्वय गर्न लगाउने निर्णय गरियो’, कार्यपालिकाको निर्णयमा उल्लेख छ । अतिर्रिक्त कक्षा सञ्चालन गरेबापत शिक्षक, कर्मचारीहरुलाई अतिरिक्त पारिश्रमिक दिने निर्णय भने नभएको मियाँले जानकारी दिए । यसअघि गत मंगलबार सबै प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुसंग शिक्षा समितिको बैठक बसी राय माग गरिएको थियो । प्रअ तथा अध्यक्षहरुको रायअनुसार समितिले नगर कार्यपालिकालाई दिएको सुझाव अनुरुप कार्यपालिकाले निर्णय गरेको रहमतुल्ला मियाँले जानकारी दिए ।




