| बिहिबार, बैशाख २३, २०८३

लुगा सिउन सिक्दै हिमालपारिका महिला

हातले बुनेको कपडाले निर्वाह गर्दै आएका हिमालपारि छेकम्पारका महिलाहरु अहिले पहिलो पटक मेसिन प्रयोग गरेर लुगा सिलाउन सिक्दैछन् । सिलाइ कटाइको महत्व बुझेपछि महिलाहरु पयरे मेसिन प्रयोग गरी लुगा सिलाउन अघि सरेका हुन् ।

‘यसअघि गाउँमा हातले सिलाएर काम चलाउने गरिन्थ्यो’, स्थानीय ताञ्जिन लामा भन्छन्, ‘अहिले पहिलोपल्ट महिलाहरु मेसिनले सिउन सिक्दैछन् ।’ गाउँपालिकाले उनीहरुलाई सिलाउन सिकाएको लामाले बताए ।

आफ्नो लागि आवश्यक लुगा कपडा आफैले सिलाउन सकून भन्ने उद्देश्यले गाउँपालिकाले यहाँका महिलाहरुलाई सिलाइ कटाइ तालिम दिएको हो । ‘यसअघि गाउँका सबैले हातले बुनेको लुगा लगाउने गर्थे’, उनी भन्छन्, ‘च्यातियो भने हातले सिलाउन जान्ने एकदुई जना बुढा मान्छे मात्र छन् । मेसिनले सिलाउने त चलनै थिएन ।’

पहिलो पटक गाउँपालिकाले मेसिनको प्रयोगले सिलाउन सिकाएको उनको भनाइ छ । ‘अब भने लुगा च्यातियो भने पनि मेसिनले सिलाउन सक्ने भएका छन्’, उनले भने ।

सिलाउने सीप सिक्न पाउँदा गाउँका महिलाहरुलाई खुशी लागेको स्थानीय निमा भुटीको भनाइ छ । ‘बच्चालाई लुगा धेरै चाहिन्छ । सबै लुगा बजारबाट किनेर ल्याउनुभन्दा आफैले अलिअलि सिलाउन सकियो भने धेरै राम्रो हुन्छ’, सीप सिकिरहेकी उनी भन्छिन्, ‘हाम्रो मनको कुरा बुझेर गाउँपालिकाले सिलाउने तालिम दियो । खुशी लागेको छ ।’

उनीहरुलाई कैलालीदेखि एक प्रशिक्षक आएर तालिम दिइरहेकी छिन् । उनीसंग गाउँका २२ जना महिलाले लुगा सिलाउने तालिम लिएका हुन् । गाउँपालिकाले तालिम लिएका सबैलाई लुगा सिलाउने पयरे मेसिनसमेत हस्तान्तरण गर्नेछ ।

‘महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउन पालिकाले सिलाइ कटाइ तालिम दिएको हो’ गाउँपालिकाका अध्यक्ष निमा लामा भन्छन्, ‘सबैभन्दा ठूलो कुरो नयाँ लुगा अथवा च्यातिएको लुगा अब मेसिन प्रयोग गरेर सिलाउन पाइने भयो । मेसिनसमेत पाएपछि महिलाहरुले सिलाएर स्वरोजगार समेत गर्न पाए ।’

प्रतिक्रिया दिनुहोस्