| बुधबार, बैशाख २२, २०८३

दुर्घटना कुर्दै सडक, ठेकेदारले काम नगर्दा जोखिम बढ्दो


अस्पालचोकदेखि आहाले जाने सडकखण्ड अन्तरगत बराह नजिकै भासिएको सडक मर्मत नहुँदा दुर्घटना जोखिम बढेको छ । सडक भासिएको दुई बर्षमा पनि मर्मत नभएको भन्दै स्थानीय आक्रोशित छन् ।

सो क्षेत्रमा सडकको आधा भाग पहिरोले बगाएको छ । बाँकी भाग पनि तलबाट भासिन थालिसक्यो । एउटा सवारी आउजाउ गर्न पनि मुश्किल पर्छ । जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्ने स्थानीय बताउँछन् ।

‘दुई बर्ष हुन लागिसक्यो बनाउँदैनन्,’ स्थानीय जान्केश्वरी बरामले भनिन्, ‘त्यो बाटो हिड्नै डराइमर्नु भइसक्यो ।’ बालबच्चा लिएर हिड्न झन् जोखिम रहेको उनले सुनाइन् । सडक मुनिको जमिन भासिदै उनको घर नजिक आइपुगिसकेको छ । बेलैमा सडक मर्मत नभए घर बगाउने भन्दै उनले चिन्ता व्यक्त गरिन् । ‘पानी पर्दा बढी डर हुन्छ, जमिन भासिएर घर नै लान्छ की भन्ने पीर छ,’ उनले भनिन् ।

आरुघाट, धार्चे हुदैँ चुमनुव्री जाने सवारी सोही सडकबाट गुड्छन् । भीमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट लगायतका गाउँपालिका केन्द्र जाने सडक पनि त्यही हो । बिद्यालय बसहरु पनि यही सडकबाट दिनहूँ आउजाउ गर्छन् । तर मर्मत नभएको उक्त सडकमा सवारी आवागमन नै प्रभावित हुने गरेको यातायात व्यवसायी तथा बस चालक डिल्लिराम भट्टले बताए ।

‘पहिरोले आधा सडक बगाइसक्यो, बाँकी भाग पनि भित्रबाट भासिदै गएकाले जुनसुकै बेला खस्न सक्ने जोखिम छ,’ उनले भने, ‘तैपनि सडक मर्मतमा सम्बन्धित निकायले चासो दिदैन ।’ बराह, ढुंगागाडे चोक र सशस्त्र क्याम्प नजिकैको सडक तत्काल मर्मत गर्नुपर्ने उनले बताए ।

यी तिनै खण्डलाई एउटै प्याकेज बनाएर ठेक्का लगाइसकिएको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । गोरखा हस्पिटल बराह फिनाम सडक मेन्टेनेन्स भन्दै कार्यालयले २०८२ साल माघ १५ गते माता नवदुर्गा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिसकेको छ । ४७ लाख ३० हजारमा ठेक्का सम्झौता भएको कार्यालयका इन्जिनियर दिपक बस्न्यातले बताए ।

‘यही आउँदो असार १५ भित्र काम सक्ने गरी सम्झौता भएको हो,’ उनले भने, ‘तर ठेकेदारले खासै काम गरेको छैन ।’ काम सुरु गर्न पटक पटक पत्राचार समेत गरिएको उनले जानकारी दिए । इन्धनको मूल्यवृद्धि समस्या देखाउँदै ठेकेदार पन्छिन खोजेको उनको भनाइ छ ।

उनका अनुसार भासिएका तीनै ठाउँमा रिटर्निङ वाल लगाएर सडक संरक्षण गर्ने हो । ठेक्का सम्झौता भएको करिव चार महिना वित्न लाग्दा समेत काम अघि बढेको छैन । स्थानीयका अनुसार बराह क्षेत्रमा दुई दिन काम भएको थियो । त्यसयता ठप्प छ ।

कार्यालयका अनुसार ढुंगाडेचोकको खोल्सामा भने ठेकेदारले बल्ल काम सुरु गरेको छ । जोखिमपूर्ण उक्त सडक समयमै मर्मत नभए ठुलै दुर्घटना हुन सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्