
गोनपा–११ को मनपरी : बिना अनुमति वन क्षेत्रमा धमाधम पक्की संरचना सम्पर्कमा आउन चाहेनन् वडाध्यक्ष
गोरखा नगरपालिका वडा नम्वर ११ ले बिना अनुमति वन क्षेत्रमा धमाधम पक्की संरचना निर्माण गरिरहेको छ । काम रोक्न डिभिजन वन कार्यालयले पटक पटक दिएको निर्देशन लत्याउँदै पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रमा संरचना निर्माण भएको हो ।
अटेर गर्दै अघि बढाइएको काममा मंगलवार डिभिजन वन कार्यालयले रोक लगाएको छ । सव डिभिजन वन कार्यालय बाह्र किलोकी प्रमुख साधना क्षेत्री नेतृत्वको टोलिले निर्माण स्थल पुगेर काम रोक्न निर्देशन दिएको हो । ‘वन को जग्गामा विना अनुमति धमाधम काम भइरहेको रहेछ,’ क्षेत्रीले भनिन्, ‘थाहा पाएपछि हामी गएर काम रोक्न लगायौ ।’
यसअघि पनि सो क्षेत्रमा गुम्वा निर्माणका लागि भन्दै रिटर्निङ वालको काम भएको थियो । आर्थिक बर्ष २०८०÷८१ मा वडा कार्यालयले तीन लाख रकम विनियोजन गर्दै वाल निर्माणको काम अघि बढाएको थियो । बिना अनुमति वन क्षेत्रमा संरचना निर्माणको काम गरेपछि वन कार्यालयले रोक्न निर्देशन दिएको थियो ।
कार्यालयको निर्देशनलाई लत्याउँदै यो बर्ष पनि सोही क्षेत्रमा वडाले तीन लाख रकम विनियोजन गरेर गुम्वा निर्माणको काम अघि बढाएको हो । नियम विपरित भइरहेको काम तत्कालका लागि कार्यालयले रोकेको छ । थप अनुसन्धान गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
नियम विपरित वडाले गरिरहेको कामबारे थप बुझ्न वडाध्यक्ष रामबहादुर खड्कालाई फोन गर्दा सम्पर्कमै आउन चाहेनन् ।




