
एकै दिन दुई रतुवा मृगको उद्धार
गोरखा नगरपालिकाबाट एकै दिन दुई वटा रतुवा मृगको उद्धार गरेको छ । दुई छुट्टछुट्टै स्थानबाट उनीहरुलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘एउटालाई गोरखा बजारको प्रतिक्षालयचोकस्थित टिभिएस सोरुम र अर्काेलाई छेवेटारस्थित स्थानीय गोकर्णबहादुर थापाको घरबाट उद्धार गरेका हौ,’ कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले भने ।
मंगलवार विहान प्रतिक्षालयचोकस्थित टिभिएस सोरुममा मृग देखेपछि स्थानीयले कार्यालयमा खवर गरेका थिए । खवर लगतै कार्यालयबाट खटिएको टोलिले उक्त मृगलाई उद्धार गरेर लगेको थियो ।
साँझ छेवेटारस्थित थापाको घरमा पुनः अर्काे मृग फेला परेको हो । स्थानीयले खवर गरेपछि कार्यालयको टोलि पुगेर उद्धार गरेको छ । उद्धार भएका दुवै मृग करिव आठ महिनाको रहेको र उनीहरुलाई उपयुक्त वासस्थानमा छाडिएको कार्यालयले जनाएको छ ।
हावाहुरीका कारण तितरवितर भएर वस्तीमा मृग पसेको कार्यालय प्रमुख शाण्डिल्यले बताए । यसअघि पनि हावाहुरीको समयमा यसरी नै मृग भेटिने गरेको उनले जानकारी दिए ।




