| मङ्लबार, बैशाख २१, २०८३

गोरखामा अब ‘गोरखा’ ब्राण्डकै पानी उत्पादन

गोरखामा अब ‘गोरखा’ ब्राण्डकै पानी प्रयोग गर्न पाइने भएको छ । विशेषगरी गोरखा र आसपासका जिल्लालाई लक्षित गरी गोरखा बोटलर्स प्रालिले ‘गोरखा’ नामको पानी उत्पादन सुरु गरेको हो ।

उद्योगको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गोरखा बोटलर्स प्रालिले गोरखा नगरपालिका–६ आयुर्वेदिकचोक नजिकै(यसअघि हिमाली चलचित्र हल संचालन भएको ठाउँमा) उद्योग संचालनमा ल्याएको हो ।
करिव डेढ करोड लगानी भएको उद्योग संचालक रामस्वरुप श्रेष्ठले बताए ।

‘यसअघि यहाँ फिल्म हल थियो,’ उनले भने, ‘त्यो भवन भत्काएर पानी उद्योग खोलेको हुँ ।’ सोमबारबाट पानी उत्पादन सुरु भएर विक्री वितरण समेत थालिएको उनले जानकारी दिए । उनी गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष समेत हुन् । दुई रोपनी दश आना जग्गामा उद्योग खोलिएको छ । डिप बोरिङ गरेर पानी निकालिएको छ । उक्त डिप बोरिङबाट प्रति घण्टा ९ हजार लिटर पानी आउने श्रेष्ठले बताए । ‘डिप बोरिङबाट आएको पानी एउटा ट्यांकीमा संकलन हुन्छ, त्यो पानी भेसलबाट सफा गरेर अर्काे ट्यांकीमा जान्छ,’ उनले भने ।

उक्त ट्यांकीबाट पानी सिधै एसएस ट्यांकको फिल्टर मेसिनमा जाने उनले जानकारी दिए । उनका अनुसार फिल्टर मेसिनमा कुल पाँच वटा ट्यांक छन् । एकपछि अर्काे गर्दै सबै ट्यांकमा पानी फिल्टर हुदै जान्छ । पाँच वटै ट्यांकमा फिल्टर भएर आएको पानी रिजर्भ ट्यांकमा जम्मा हुने र त्यहाँबाट वोत्तल र जार भर्न सप्लाई हुने श्रेष्ठले बताए । बोत्तल समेत सोही उद्योगमा उत्पादन हुने उनले जानकारी दिए ।

उद्योगबाट उत्पादित पानीलाई ‘गोरखा’ नामाकरण गरिएको छ । प्रति घण्टा न्यूनतम १८ सय लिटर पानी उत्पादन गर्ने क्षमता उद्योगको छ । एक लिटर वोत्तलको पानीको मूल्य २० रुपैँया निर्धारण गरिएको छ । उद्योगमा हाल ६ जना कामदार छन् । जिल्लावासीलाई शुद्ध पानी खुवाउने उदेश्यसहित उद्योग संचालन गरिएको संचालक श्रेष्ठले बताए । ‘जिल्ला धनी हुन चाहिने कुराहरु मध्ये पानी पनि एक रहेछ, त्यसैले पानी उद्योग खोलेको हुँ,’ उनले भने ।

खाद्य प्रविधि बिभाग पोखराबाट गुणस्तर मापन गरेर अनुमति दिएपछि उद्योग संचालन गरिएको उनले जानकारी दिए । बिशेष गरी गोरखा जिल्लालाई लक्षित गरी पानी उद्योग खोलिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्