| सोमवार, बैशाख २०, २०८३

दोभानमा बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण हुँदै

उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुल्चुक जोड्नेगरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य भैरहेको छ । दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरिरहेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङले बताए ।

बुढीगण्डकी नदी माथि करिब ४२ मिटर लामो बेलीब्रिज निर्माण कार्य भैरहेको उनले जानकारी दिए । गुरुङका अनुसार दोभान खोला हाईड्रोपावर आयोजनाले आफ्नो परियोजनाको काम संचालन गर्नका लागि र स्थानीयबासीलाई समेत आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले उक्त पुल निर्माण गर्न लागेको वडाअध्यक्ष गुरुङले जानकारी दिए ।

बेलिब्रिज निर्माण भएपछि हुल्चुकसम्म सवारी साधन सहजै पुग्न सक्ने हुँदा स्थानीयबासीलाई ठूलो राहत पुग्ने विश्वा गुरुङले व्यक्त गरे । जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पुल निर्माण गर्न लागेको हो । ‘पुल हामी हुल्चुकबासीको आवश्यकता हो’, गुरुङले भने, ‘हाईड्रोपावरको काम पनि पुल निर्माण नगरी अघि नबढ्ने रहेछ । पुल बनेपछि आयोजनाको काम पनि अघि बढ्ने भयो । हामी हुल्चुकबासी पनि लाभान्वित हुने भयौँ ।’

धार्चेको सबै वडामा मोटर पुगे पनि पुल्र नहुँदा धार्चे गाउँपालिका वडा नं १ हुल्चुकमा अहिलेसम्म मोटर पुग्न सकेको छैन । यहाँ पनि मोटर चल्न थालेपछि धार्चे गाउँपालिकाको सबै वडाहरुमा यातायातको सुबिधा पुग्ने वडाअध्यक्ष गुरुङको भनाइ छ ।
हुल्चुकमा यातायातको सुबिधा नहुँदा महङ्गोमा खाद्यन्न सामाग्री ढुवानी गर्नुपर्ने बाध्यक्ष रहेको थियो ।

‘धार्चे ३ दोभानसम्म बजारकै भाउमा सामान आउँछ । तर, दोभानपारि हुल्चुकमा मोटर नआउँदा खाद्यन्न सामाग्री प्रतिकेजी ५ रुपैँयाको दरले भाडा तिरेर खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ’, वडाअध्यक्ष रामसिंह गुरुङले भने । बेलीबिज्र निर्माण भएपछि हुल्चुकबासीले बजारको मुल्यमा नै खाद्यन्न खरिद बिक्री गर्न पाउने उनले बताएका छन् ।

करिब ५ करोडमा बन्न लागेको उक्त बेलीब्रिज निर्माणको काम गत फागुनबाट सुरु भएको हो । पुल निर्माणअन्तरगत फाउन्डेसनको काम सम्पन्न भैसकेको आयोजनाले बताएको छ । आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्