
गोरखामा ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइयो
गोरखामा ३४ औं ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइएको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ गोरखाले दिवस मनाएको हो ।
दिवसको अवसरमा प्रेस स्वतन्त्रताको रक्षा, महत्व, आवश्यकता र चुनौतीको बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको महासंघका सहसचिव दानबहादुर गुरुङले बताए । छलफल कार्यक्रममा सहभागीहरूले सञ्चारमाध्यमबाट प्रकाशन प्रशारण हुने सूचनाका विषयहरुलाई उठान गर्दै समसामयिक राजनीतिक अवस्था र प्रेसमाथि भइरहेका हस्ताक्षेपप्रति संकेत गर्दै आफ्ना धारणहरु व्यक्त गरेका थिए ।
साथै महासंघले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुन नसक्ने भन्दै सूचनाको हक र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने बताएको छ । कार्यक्रम पत्रकार शिव उप्रेतीले प्रेस स्वतन्त्रता सम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
महासंघका उपाध्यक्ष बिकास मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा शाखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, प्रेस काउन्सिल सदस्य भिमलाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरत बहादुर बिक, मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष यदु अधिकारी, मानव अधिकारकर्मी एंव अधिवक्ता स्थानेश्वर दुवाडीलगायतले मन्तव्य राखेका थिए ।




