
गोरखामा सवालाख रोट महोत्सव सुरु
गोरखास्थित गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरु भएको छ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमाको दिन शुक्रवारदेखि महोत्सव सुरु भएको हो । ११ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा गोरखनाथलाई सवा लाख (एकलाख २५ हजार) रोट अर्पण गर्ने कार्यक्रम रहेको साधन रामजी अर्यालले जानकारी दिए ।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको रोट महोत्सवको यो २३ औँ श्रृङ्खला हो । रोट महोत्सवको पहिलो दिन शुक्रबार बिहान सदरमुकामस्थित सिद्धाश्रम शक्तिकेन्द्रदेखि गोरखनाथ गुफासम्म रथयात्रा आयोजना भएको छ । रथयात्रामा घडासहितका १०८ कन्या, नाथयोगीहरु, आश्रमका साधक, साधिका, गोरखनाथका भक्तजन, जनप्रतिनिधि, कार्यालयका कर्मचारी, सेना, प्रहरी, तथा स्थानीय नगरबासीहरुको सहभागिता रहेको थियो ।
महोत्सव बैशाख २८ गतेसम्म चल्ने छ । सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ । साथै देवी देवताको पूजा, बिशेष हवन, साधना, भजनकीर्तन लगायतका गतिविधि हुने सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ । गहुँ, जौ पिठोमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल, किसमिस जस्ता विभिन्न ५२ प्रकारका शक्तिबद्र्धक मसला मिसाएर तयार गरिने रोट गोरखनालाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै भक्तजन तथा मुलुकमा पनि संकट टर्ने धार्मिक मान्यता छ ।
रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको छ । रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने केन्द्रको भनाइ छ । विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवालाख रोट महोत्सव गर्दै आएको छ । महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।




