| शुक्रबार, बैशाख १७, २०८३

सार्वजनिक जग्गा कब्जामुक्त गर्न होस्टेमा हैँसे गरौं

सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा सार्वजनिक जग्गाको लोभ लालच गर्नु अविवेकी कार्य मात्र होइन, दण्डनीय कार्य समेत हो ।

तर जोसंग आफ्नो नाउँमा कत्तिपनि जग्गा जमिन छैन, उनीहरुसंग लालपूर्जावाला कत्तिपनि जग्गा जमिन छैन, उनीहरुलाई जग्गा दिलाउने जिम्मा सरकारको हो । किनभने कुनैपनि नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको जिम्मा सरकारले लिएको हुन्छ र त्यो जिम्मेवारी बहन पनि गर्नुपर्दछ ।

अहिले सरकारले सार्वजनिक, सरकारी जग्गा कब्जा गरेर बस्ने तथा आवाद गर्नेहरुलाई यस्तो प्रकृतिको जग्गा छाड्न निर्देशन गरेको छ । सुकुम्बासीको नाउँमा अरुले पनि लोभ र लाभ लिइरहेको धेरै उदाहरणहरु छन् । यो नियन्त्रण गर्न पनि सरकारले अहिले निर्मम कदम उठाएको छ ।

यसमा बास्तविक सुकुम्बासीहरुलाई पनि केही हदसम्म समस्या पर्न सक्छ, तर बास्तविक सुकुम्बासीलाई सरकारले निश्चित पनि वैकल्पिक जग्गाको व्यवस्था गर्नेछ र गर्नुपर्छ पनि । भलै उनीहरुले रोजेको ठाउँ नमिल्न सक्छ । अहिले सरकारले अघि बढाएको यो अभियानलाई सबैले सहयोग गर्नुपर्छ ।

कुनै व्यक्ति यस्ता लुच्चो स्वभावका हुन्छन्, जो लाभ लिनका लागि जतिसुकै लाचार बन्न पनि तयार हुन्छन्, निर्लज्ज बनेर पनि लाभ लिन उद्दत हुन्छन् । त्यस्ता प्रकृतिका व्यक्तिलाई निर्मम भएर कारबाही गर्नुपर्ने हुन्छ । यसरी कारबाही गर्न बलियो सरकार चाहिन्छ । अहिले यस्तै अनुकूल समय मिलेको छ । त्यसैले सरकारको होस्टेमा सबैको हैंसेको खाँचो छ ।

बास्तविक सुकुम्बासीलाई बैकल्पिक जग्गाको व्यवस्था गर्दै अवास्तविक सुकुम्बासीलाई सार्वजनिक, सरकारी जग्गाबाट हटाउन सबैले पहल गरौँ ।

प्रतिक्रिया दिनुहोस्