| शुक्रबार, बैशाख १७, २०८३

आँपपिपल अस्पतालमा एच.ए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले जिल्लाको पालुङटार नगरपालिकास्थित आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एच.ए) पढाउने तयारी गरेको छ । प्रदेश सरकारले प्रक्रियागत ढिलाइका कारण गतवर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए यस वर्षदेखि सञ्चालन गर्न लागिएको हो ।

गत वर्षको असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीइभिटी) सँगको सहकार्यमा जिल्लाको आँपपिपल अस्पतालमा एचए पढाइ सुरु गर्ने निर्णय गरेको थियो । गत सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले आँपपिपलमा एचएको पढाइ सञ्चालनका लागि तदारुकताका साथ तयारी अगाडि बढाउने निर्णय गरेको मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए ।

‘गत वर्ष नै पढाइ सञ्चालन गर्ने तयारी थियो, अनुमति लिने प्रक्रिया लम्बिएकाले सुरु हुन सकेन’ उनले भने, ‘मन्त्रालय र सिटीइभिटीबीच तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ, हामी त्यसमै लागि परिरहेका छौँ ।’ ‘सिटीइभिटी’ गण्डकी प्रदेश कार्यालयका प्रमुख शारदा घिमिरेले परिषद्को आगामी बैठकमा प्रस्ताव पेस गर्नेगरी तयारी भइरहेको बताइन् । प्रदेश शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले अनुमति दिने निर्णय गरेपछि पढाइ सञ्चालन हुने उनको भनाइ छ ।

‘प्रस्ताव तयार छ, परिषद्को आगामी बैठकमा पेस हुन्छ’, घिमिरेले भनिन्, ‘स्टाफ नर्स र एचए पढाउन सिटीइभिटी र प्रदेश सरकार तयारी अवस्थामा छ ।’गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री पाठकले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालगत्तै सञ्चालन गर्नेगरी प्रदेश सरकारले पूर्वाधार तथा स्रोत व्यवस्थापनको काम गरिसकेको बताए ।

स्वास्थ्य मन्त्रालय र सिटीइभिटीले आवश्यक बजेटसमेत विनियोजन गरेको र परिषद् बैठकबाट अनुमति प्राप्त भएपछि सिट निर्धारण हुने उनको भनाइ छ । मन्त्रालयले अनुमति लिने प्रक्रियासँगै पढाइ सञ्चालनका लागि प्राविधिक र व्यवस्थापकीय तयारी लाई तीव्रता दिएको छ । अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानव संशाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

एचए पढाउने तयारी भइरहेको आँपपिपल अस्पताललाई अहिले ५० शैयामा स्तरोन्नति गरिएको छ । पालुङटार नगरपालिकाअन्तर्गत रहेको अस्पताललाई गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । अस्पतालमा एचए विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने विश्वास अस्पताल व्यवस्थापन समितिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्