
पालुङटारको अतिक्रमित सार्वजनिक जग्गा छाड्न १५ दिने अल्टिमेटम
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न गोरखाको पालुङटार नगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाको बैशाख ८ गते बसेको कार्यपालिका तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको बैठकको निर्णय अनुसार वैशाख १६ गते सूचना जारी गरेर अतिक्रमण हटाउन समयसीमा तोकेको हो ।
सूचनामा नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गा, नदी खोलाको बहाब क्षेत्रको जग्गा, सरकारी जग्गा तथा ऐलानी/पर्ती जग्गामा अनुमतिबिना निर्माण गरिएका संरचनाहरु १५ दिनभित्र हटाउन निर्देशन गरिएको छ । नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गामा केही व्यक्तिहरुले अतिक्रमण गरी भोगचलन गरेको भन्ने जनगुनासो समेतको आधारमा सयमसीमा तोकेर हटाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।
‘नगरपालिकाभित्र अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गराउनु भनेर हामीले सूचना जारी गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत बिसीले भने, ‘तोकिएको समयभित्र उहाँहरू आफैले खाली गर्नुहुन्छ भन्ने विश्वास छ । नगरे नगरपालिकाले बल प्रयोग गरी हटाउनुपर्ने हुन्छ ।’
सूचनाको अवज्ञा गरी संरचना नहटाएमा प्रचलित कानुन बमोजिम नगरपालिका आफैले हटाउने उनले चेतावनी दिए । यसो गर्दा लागेको खर्चसमेत सम्वन्धी व्यक्तिबाट सरकारी बाँकी सरह असुलउपर गरिने व्यहोरा समेत सूचना गरिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।




