
समयमै ढुवानी भयो खाद्यको चामल
उत्तरी गोरखाका खाद्य डिपोहरुमा यो बर्ष निर्धारित समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । जिल्लाको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुमलिङ बिक्री केन्द्रमा चामल ढुवानी भैसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तीनै वटा बिक्री केन्द्रहरुमा पाँच–पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । निर्धारित कोटा अनुसारको चामल चैत मसान्तभित्रै ढुवानी सम्पन्न गरेको कार्यालयकी प्रमुख रन्जना केसीले बताइन् ।
‘हाम्रो कार्यालयले निर्धारण गरेको कोटाअन्तरगतको ढुवानी कार्य सम्पन्न र्भसकेको छ’, उनले भनिन्, ‘यस वर्ष बिमलनगरबाट पनि चुमनुब्रीको तीनै वटा बिक्री केन्द्रहरुका लागि थप ५००–५०० क्विन्टल चामल ढुवानी गर्ने कोटा निर्धारण भएको छ ।’
बिमलनगरबाट ढुवानीको काम सुरु भएपनि चुमनुब्री जाने मुख्य सडक बन्द भएकोले ढुवानी भने हुन नसकेको उनले जानकारी दिइन् ।
बिमलनगरको कोटा पूरा नगरी शाखा कार्यालय गोरखाबाट कोटा थप गर्न नमिल्ने कार्यालय प्रमुख केसीको भनाइ छ ।
जिल्लाको ढुवानी पूरा भएसँगै खाद्यको प्रधान कार्यालयले यही बैशाख ११ गतेबाट लागु हुनेगरी शाखा कार्यालय गोरखा र सिर्दिवास डिपोका लागि थप ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको उनले बताएकी छिन् ।
कार्यालयका अनुसार अहिले सिर्दिवास डिपोमा ९ सय क्वीन्टल चामल मौज्दात छ । जिल्ला सदरमुकामको कार्यालयमा ४ सय क्वीन्टल मौज्दात रहेको कार्यालय प्रमुख केसीले बताएकी छन् । सिर्दिवास डिपोबाट सोना मंसुली चामल प्रति किलो रु ५५ र स्टिम जिरा मसिनो चामल प्रति किलो रु ८१ रुपैयामा बिक्री वितरण हुने गरेको छ । नाम्रुङ र चुम्लिङ्ग बिक्री केन्द्रबाट पनि सोही मूल्यमा बिक्री वितरण हुने गरेको कार्यालयको भनाइ छ ।
गोरखाको कार्यालयमा भने सोना मंसुली चामल प्रति किलो रु ५५ तथा स्टिम जिरा मसिनो चामल प्रति किलो रु ७९ मा बिक्री भइरहेको छ ।




