
राहदानी सेवाग्राहीको घर–घरमै पु¥याउने सम्झौता
गोरखाको जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच सेवाग्राहीहरु राहदानी घर घरमै पु¥याउने सम्झौता भएको छ । मंगलबार यी दुई कार्यालय बीच उक्त सम्झौता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
सेवाग्राहीहरुले राहदानीको फारम भर्न आउने जिल्ला हुलाकको कुरिअर सेवामार्फत पासपोर्ट तयार भएपछि घरैमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको सप्रजिअ शर्माले जानकारी दिए । ‘पासपोर्टको फारम भर्ने क्रममा नै कार्यालयमा आएर पासपोर्ट बुझ्ने वा हुलाक सेवामार्फत घरैमा बुझ्ने भन्ने दुईवटा विकल्प दिएको हुन्छ’, सहायक प्रजिअ शर्माले भने, ‘सेवाग्राहीले आफ्नो अनुकुलको विकल्प छान्न सक्नुहुन्छ ।’
घरघरमा पासपोर्ट लिनका लागि हुलाक सेवा लिए बापत सेवाग्राहीहरुले ५५ रुपैँयाको हुलाक टिकट दस्तुर तिर्नु पर्ने उनले बताएका छन् । सेवाग्राहीहरुले घर–घरमै राहदानी पाउने भएपछि जिल्ला प्रशासन कार्यालयको भिड केही हदसम्म भएपनि कम हुने सहायक प्रजिअ शर्माको भनाई छ ।




