| मङ्लबार, बैशाख १४, २०८३

हावाहुरीले उँडाएका घर हारगुहारमा मर्मत गर्दै युवाहरु

केही दिनअघि हावाहुरीले क्षतिग्रस्त बनाएका घरहरु गाउँले युवाहरु मिलेर मर्मत सम्भार गर्दैछन् । पालुङ्टार नगरपालिका ९ मा गत बैशाख ६ गतेको हावाहुरीले उँडाएका घरहरु गाउँले युवाहरु परस्पर मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन् ।

हावाहुरीले उँडाएका घरहरु हारगुहारमा मर्मतसम्भार गरिरहेको स्थानीय युवाहरु बताउँछन् । ‘हावाहुरीले गाउँमा सबैजसोका घर उँडायो । हावाहुरीसंगै पानी परेर घरभित्रका सामान भिजायो’, पालुङ्टार ९ सिस्नेरी टोलका सुरेश सुनारी मगरले भने, ‘गाउँमा बिपद् परेको भोलिपल्टै हामीले एउटा डफ्फा बनायौँ । काठको काम जान्नेले काठको काम, छाना छाउन जान्नेले छानाको काम, विद्युत वायरिङ जान्नेले वायरिङको काम, जसले जे जानेको छ त्यही काम गरेर सबैलाई मद्दत गरिरहेका छौँ ।’ युवाहरुको स्वयंसेवी अभियानले अहिलेसम्म २० भन्दा धेरैको घर मर्मतसम्भार गरिसकेको उनले बताए ।

गाउँमा तीनवटासम्म समूह बनाएर काम भइरहेको अर्का स्थानीय भक्तबहादुर राना मगरले बताए । ‘घरको क्षतिको अबस्था हेरेर धेरैजना चाहिने रहेछ भने धेरैजना मिलेर, थोरैजना चाहिन्छ भने त्यही अनुसार दुइटा, तीनवटा समूह बनाएर घर मर्मतको काम गरिरहेका छौं’, उनले भने, ‘एउटा घर चाँडै नै मर्मतसम्भार भइसक्यो भने त्यो समूह पनि अर्कोमा थपिएर काम गर्छौं । बिहानैदेखि साँझसम्म काम गरिरहेका छौं ।’ गाउँले सबैजना बिपद्मा परेकाले सबै मिलेर सबैलाई सहयोग गरिरहेको उनले बताए ।

सो दिनको साँझपख चलेको हावाहुरीले पालुङ्टार नगरपालिका ९ मा ३८ घरको छाना उँडाएको नगरपालिकाले जानकारी दिएको छ । वडा नं. ८ मा ८, वडा नं. ७ मा १० घर र वडा नं. ६ मा १३ घर उँडाएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी बताउँछन् । वडा नं. ९ को त्रिवेणी मावि र एउटा स्वास्थ्य संस्थासमेत उँडाएको बिसीले जानकारी दिए ।

पालिकाले तत्कालको सममस्या समाधानका लागि त्रिपाल वितरण गरेको उनको भनाइ छ । ‘अहिले लगत संकलन भर्खर सकिएको छ । केही दिनमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्ण क्षति भएकाहरुको घर पालिकाले मर्मत गरिदिने निर्णय गर्नेछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्