
गोरखामा विभिन्न मुद्दाका १० फरार प्रतिवादी पक्राउ
जिल्लाका १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । बिभिन्न मुद्दाका उनीहरुलाई एक महिनाको अवधिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी मुद्दा बारपाक सुलिकोट गाउँपालिका–६ का सन्जय पनेरुको छ ।
उनीबिरुद्ध मात्रै बैंकिङ कसूर सम्बन्धी दश वटा मुद्दा छन् । पनेरुलाई जिल्ला अदालतले १७ महिना जेल र करिव ३६ लाख रकम जरिवाना तोकेको छ । त्यसयता फरार उनलाई गत चैत्र ४ गते पक्राउ गरिएको डिसपी राजकुमार श्रेष्ठले बताए । ‘दश जना व्यक्तिलाई ६० हजारदेखि १० लाखसम्मको चेक दिएको रहेछ,’ उनले भने, ‘चेक साट्न जाँदा पटक पटक बाउन्स भएपछि उनीहरुले मुद्दा हालेका रहेछन् ।’
फैसला कार्यान्वयनका लागि पनेरुलाई अदालतमा बुझाइएको डिएसपी श्रेष्ठले जानकारी दिए । त्यस्तै पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका–१० का सलिन श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिका–४ का सुष्मा बिक, गोनपा–६ का राजु श्रेष्ठ, गोनपा–३ का समिर राना र अनिल भन्ने रन्जित रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ सार्वजनिक शान्ति बिरुद्धको कसूरका फरार प्रतिवादी हुन् भने बिक जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन् ।
श्रेष्ठ, राना र रन्जित भने सार्वजनिक अपराधका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाही स्वरुप केही रकम जरिवाना तोकिएको थियो । आरुघाट गाउँपालिका–२ का इश्वर कार्की, गोनपा–३ का खडकप्रसाद श्रेष्ठ, गोनपा १ का राकेश थापा र कञ्चन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरुघाटका कार्की चोरी मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई ६ महिना कैद सजाय तोकिएको छ । कर्तव्य ज्यान मुद्दाका खड्कप्रसादलाई २० बर्ष जेल सजाय तोकिएको बताइएको छ ।
राकेश र कञ्चन भने सार्वजनिक अपराधका फरार प्रतिवादी रहेको डिएसपी श्रेष्ठले बताए । उनीहरुलाई केही जरिवाना रकम तोकिएको छ । बिभिन्न समयमा जिल्लाको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फैसला कार्यान्वयनका लागि उनीहरुलाई सम्बन्धित निकायमा पठाइसकिएको छ ।




