| सोमवार, बैशाख १३, २०८३

पत्रकारिताको घाँटी निमोठ्नु लोकतन्त्रको घाँटी निमोठ्नु हो

अहिले नेपाल सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन प्रशारण गर्नुपर्ने, निजी सञ्चार माध्यममा गर्न नपाइने नीति लिएको छ । यसले सरकारी सञ्चार माध्यम मात्र फस्टाउने, अरु सञ्चार माध्यम झण्डै बन्द हुने स्थितिमा पुग्ने निश्चित छ ।

लोकतन्त्र र पत्रकारिता भनेको एक सिक्काका दुई पाटा हुन् । जहाँ लोकतन्त्र छ, त्यहाँ पत्रकारिता फस्टाउँछ, जहाँ प्रेस स्वतन्त्रता छ, त्यहाँ लोकतन्त्र फस्टाउँछन् । एउटाको मद्दतले अर्को सबल हुने व्यवस्था भनेको लोकतन्त्र हो । यसको विपरीत जहाँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतता छैन, त्यहाँ लोकतन्त्र फस्टाउन सम्भवै हुदैन । त्यसैगरी जहाँ लोकतन्त्र छैन, वा निरङ्कुशतन्त्र छ, त्यहाँ न पत्रकारिता फस्टाउँछ, न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता फस्टाउँछ ।

यसको उदाहरण फेला पार्न नेपालको राजनीतिक इतिहास अध्ययन गर्नुपर्छ । जब बि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपदस्त गरी पञ्चायती व्यवस्था लागु गरे, त्यतिबेला पनि सरकारी सूचना तथा विज्ञापन निजी पत्रपत्रिकामा नदिने निर्णय गरी कार्यान्वयन गरेका थिए । दर्ता भएका पत्रपत्रिका बन्द गर्न नपाइने कानूनी व्यवस्था थियो । त्यसैले निरङ्कुश पञ्चायती व्यवस्थाले पत्रपत्रिका सिधै बन्द गर्न सकेनन् तर सूचना, विज्ञापनको प्रावधान बन्द गरेर पत्रपत्रिकाहरु बन्द हुने वातावरण बनाएका थिए ।

२०३६ सालको सेरोफेरोमा भूमिगत रुपमा पत्रकारहरुले पत्रपत्रिका प्रकाशन गर्ने, पत्रपत्रिकामा निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्ने गर्न थाले । झण्डै १० बर्षको पत्रकारिताको संघर्ष तथा राजनीतिक दलको भूमिगत विद्रोहले २०४६ सालको आन्दोलन ल्यायो, जसले प्रजातन्त्र पुनस्थापना ग¥यो ।

त्यस्तै २०६१ सालमा राजा ज्ञानेन्द्रले पनि यही नीति अवलम्बन गरे । पत्रकारहरुले यसको पनि बिरोध गरे । राजनीतिक दल र पत्रकारहरुको चरणवद्ध आन्दोलनले २०६३ सालमा पुन लोकतन्त्र पुनस्थापना भयो । यसले मानव अधिकार, मौलिक अधिकारको पनि पुनर्वहाली ग¥यो, पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको पनि पुनर्वहाली भयो ।

अहिले पनि सरकारले पत्रकारिताको घाँटी निमोठ्ने गरी सरकारी मिडियामा मात्र सरकारी विज्ञापन छाप्ने नीति लिएको छ । यसले पत्रकारितामाथि कुठाराघात गर्ने निश्चित छ । यो प्रावधानको अन्त्य हुनुपर्छ । निजी क्षेत्रका पत्रकारिता पनि फस्टाउने वातावरण बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्