
गोरखा अस्पतालमा १० महिनामा एक हजारभन्दा धेरैजनाको शल्यक्रिया, सेवाको गुणस्तर गण्डकी प्रदेशकै उत्कृष्ट
स्तरोन्नति भएपछि प्रदेश अस्पताल गोरखामा शल्यक्रिया गर्ने बिरामीको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक हजारभन्दा धेरैजनाको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । बैशाख पहिला हप्तासम्ममा एक हजार १९० जनाको शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी चन्द्र बहादुर खत्रीले बताए ।
जसमध्य ५९६ जनाको ठूलो शल्यक्रिया, २३४ जनाको मध्यम र ३६० जनाको माइनर शल्यक्रिया गरिएको उनले जानकारी दिए । चालु आवको हालसम्ममा अस्पतालले सबैभन्दा धेरै ६ सय ३२ जनाको जेनेरल सर्जरी गरेको छ । यस्तै, ३२२ जनाको स्त्री रोग तथा प्रसूति सम्बन्धी शल्यक्रिया र २३६ जनाको अर्थोपेडिक्स तथा ट्रमा सम्बन्धी शल्यक्रिया भएको छ ।
प्रदेश अस्पतालले गोरखामा गत आर्थिक वर्ष २०८१/०८२ मा १२ सय ९६ जनाको शल्यक्रिया भएको थियो । गत आव अस्पतालमा पाँचसय ७ जनाको मेजर शल्यक्रिया भएको अस्पताल सूचना अधिकारी खत्रीको भनाइ छ । चालु आवको हालसम्ममा अस्पतालबाट १० हजार ५६ जनाले यु.एस.जी सेवा, ६ हजार १८२ जनाले इसीजी, दुईहजार ६४३ जनाले फिजियोथेरापी तथा ६ हजार ४७३ जनाले आयुर्वेद सेवा प्राप्त गरेका छन् । यसैगरी, १६ जना लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरुले एकद्धार संकट व्यवस्थापन केन्द्र ओ.सि.एम.सी बाट निशुल्क सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ ।
अस्पलातको सामाजिक सेवा इकाई अन्तरगत गरिब, असहाय, जेष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित जस्ता समस्यामा परेका ५०८ जनाले निशुल्क तथा सहुलियतको सेवा लिएको उल्लेख छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा अस्पतालको न्यूनतम सेवा मापदण्ड ९० प्रतिशत कायम छ । जुन गण्डकी प्रदेशकै उत्कृष्ट रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए । ढकालका अनुसार गोरखा अस्पतालले गोरखा नगरपालिकासँगको साँझेदारीमा ‘आधारभुत स्वास्थ्य सेवा’ संचालनमा ल्याएको छ । उक्त सेवा अन्तरगत गोरखा नगरपालिका बासीले अस्पतालको सेवा सुविधाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको उनले जानकारी दिए ।
प्रदेश अस्पताल गोरखाले हालसालै इन्डोस्कोपी सेवा संचालनमा ल्याएको छ । अस्पतालले फिजियोथेरापी सेवा बिस्तारका साथै प्रयोगशाला सेवा र आयुर्वेद सेवा सुदृढिकरण गरेको जनाएको छ । अस्पतालमा भिड व्यवस्थापनका लागी बिहान ८ बजेबाट नै ओपीडि सेवा संचालनमा ल्याएको अध्यक्ष ढकालले जनाएका छन् । अन्य आकस्मिक सेवाहरु भने २४ सै घण्टा संचालन हुने उनको भनाई छ ।




