| शुक्रबार, बैशाख १०, २०८३

छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर

सिजन सुरु भएपछि गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा बिगत एकसाता अघिदेखि लेकतिर जान थालेका हुन् ।

‘अब सिजन सुरु भयो’, स्थानीय साङ्पा लामाले भने, ‘गाउँलेहरु लेकमा पुगिसके । हामी पनि जान लाग्दैछौँ ।’ लेकमा अहिलेसम्म हिउँले ढाकेको खबर आएको उनले बताए । ‘पहिले पहिले त यतिबेलासम्म लेकमा हिउँ उठिसकेको हुन्थ्यो । यो साल त अहिलेसम्म हिउँले ढाकेको छ भन्ने कुरा छ’, उनले भने, ‘हामी गएर बस्दै गर्छौँ । हिउँ उठ्दै गर्ला नि ।’ गाउँलेहरु गएर एक महिनासम्म बस्दा हिउँ उठिसक्ने उनको आशा छ ।

यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा हो । उनीहरु तिब्बती सीमाना आसपासको छेके र बाजु लगायतका लेकमा पुगेर यार्सागुम्बा संकलन गर्ने गर्छन् । उनीहरु याक, चौँरी, घोँडामा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ढुवानी गरेर लावालस्कर लाएर लेकतिर गएका छन् । ‘अब गएपछि एक महिनासम्म उतै पाल टाँगेर बसिन्छ’, लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भने, ‘घर कुर्न बुढाबुढी मान्छेहरु अलिअलि गाउँमा बस्छन् । अरु सबै जान्छन् । कोही गइसके, कोही धमाधम जाँदैछन् ।’ यार्सागुम्बा बेचेर बर्षदिनको खर्चको जोहो गर्ने उनले बताए ।

यहाँको लेकमा यार्सागुम्बा संकलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध छ । स्थानीयले भने समितिलाई जनही पाँचसय रुपैयाँ शुल्क तिरेपछि जति जना पनि लेकमा जान पाउने नियम बनाएका छन् । यहाँ पाइने यार्सागुम्बा जिल्लाकै सबैभन्दा राम्रो मानिन्छ । गतबर्ष पनि प्रसस्त यार्सागुम्बा संकलन गर्न पाइएको र मूल्य पनि आकर्षक पाइएको स्थानीयको भनाइ छ ।

बिगत बर्षहरुमा यार्सागुम्बा संकलन गर्न अभिभावक गएपछि बालबच्चा पनि लेकतिरै लिएर जाने गर्दथे । यसबर्ष भने यहाँ वुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था गरेपछि बालबालिकाको पढाइ नबिग्रिने आवासीय सुविधा दिने लामा पासाङ फुञ्जोले बताए ।

‘हाम्रो करुणा स्वास्थ्य संस्थाले जोसेफ फर डिग्निटी भन्ने विदेशी संस्थाको सहयोगमा वुद्ध आधारभूत विद्यालयलाई चुमगुम्बामा ल्याएर आवासीय सुविधासहित पढाउने व्यवस्था गरेका छौँ’, पूर्व वडा अध्यक्षसमेत रहेका लामाले भने, ‘अहिलेदेखि अभिभावकहरु लेकतिर गए पनि बालबालिकाहरु छात्रवासमा बसेर पढ्न पाउँछन् । स्कूल बिदा हुदैन ।’ चुमनुब्री गाउँपालिकाको वडा नं. १, वडा नं. २, वडा नं. ३ र वडा नं. ७ का लेकहरुमा यार्सागुम्बा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्