
एक वर्षमा गोरखा संग्रहालयको पर्यटक १ लाख ३३ हजार, ३० लाख बढी राजश्व संकलन
गत वर्ष २०८२ मा एक लाख ३३ हजारभन्दा बढी पर्यटकले गोरखा संग्रहालयको अवलोकन गरेका छन् । नेपाल एकिकरणको उद्गम थलोको रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकहरुको संख्या एक लाख ३३ हजार ९९१ रहेको संग्राहलयका प्रमुख जयनारायण कार्कीले बताए ।
जसबापत ३० लाख ४५ हजार १९५ रुपैँया राजश्व संकलन भएको कार्कीले जानकारी दिए । ‘गोरखा र नेपालको ऐतिहासिक विषयमा अध्ययन गर्नेहरु गोरखा आउने गर्छन’ उनले भने ‘संग्रहालयको बनोट, यहाँ भएका विषयबस्तु, शाह वंशको इतिहास, नेपाल एकिकरण लगायतको बारेमा अध्ययन गर्नुपर्ने भएकोले विशेष गरी विद्यार्थीहरु यहाँ घुम्न आउँछन् । संग्रहालयले गोरखा जिल्लाका विभिन्न जातजातीका भेषभूषा र धर्मसंस्कृती झल्कने ग्यालरीहरु राखेको छ ।’
कार्कीका अनुसार गत वर्ष ४४ हजार ७० जना विद्यार्थीहरुले गोरखा संग्रहालय अवलोकन गरेका छन् । संग्रहालय घुम्न आउने आम नागरिकहरुको सङख्या भने ८७ हजार २१९ रहेको थियो । यस्तै, सार्क राष्ट्रहरुबाट १६० र अन्य विदेशी मुलुकका दुईहजार ५४२ जनाले संग्रहालय भ्रमण गरेको कार्कीको भनाई छ ।
गत बर्ष संग्रहालयले अवलोकन बापत २८ लाख ७४ हजार राजश्व संकलन गरेको थियो । यो विगतका वर्षहरुको तुलनामा केही बढी हो । बर्षेनी बिद्यार्थी संगै पर्यटकको संख्या बढ्दै गएको संग्रहालयले जनाएको छ । संग्रहालय अवलोकन वापत बिद्यार्थीले दश रुपैया शुल्क तिर्नुपर्छ ।
नेपालीले २५ रुपैया तिर्नुपर्छ भने बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि एक सय रुपैया शुल्क लाग्ने बताइएको छ । संग्रहालय साताको सबै दिन खुल्ने प्रमुख कार्कीले जानकारी दिए ।




