
फिलिम–लार्केपास पदमार्गमा खच्चड हिँडाउन रोक
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा पाँच दिनसम्म खच्चड हिँडाउन रोक लगाइएको छ । मंगलबारदेखि गाउँपालिकाको वडा नं ५ रानामा पदमार्ग स्तरोन्नतिको काम सुरु गरिएकोले खच्चड आवतजावतमा रोक लगाइएको पालिकाले जनाएको छ ।
सो स्थानमा ढलान तथा रेलिङ निर्माणको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । ‘त्यहाँ बाटो साँघुरो छ, अघिल्लो वर्षहरुमा पनि खच्चडहरु लडेर मरेका थिए,’ उनले भने, ‘आगामी दिनमा त्यस्तो नहोस् भनेर पदमार्ग स्तरोन्नतिको काम अघि बढाएका छौ ।’ निर्माण कार्य सम्पन्न नहुँदासम्मको लागि खच्चड आवतजावतमा रोक लगाइएको उनले जानकारी दिए ।
वैशाख ८ गतेदेखि १२ गतेसम्म राना गाउँको बाटोको सट्टा वैकल्पिक बाटो प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ । स्तरोन्नतिको काम सम्पन्न भएलगत्तै पदमार्र्ग पुनः सुचारु गरिने बताइएको छ । खच्चड व्यवसायीलाई पनि निर्माण कार्य सम्पन्न नहुँदासम्म खच्चड आवतजावत बन्द गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ ।




