| बुधबार, बैशाख ८, २०८३

चुमनुव्रीको केन्द्र फिलिम जोड्ने बुढीगण्डकीमाथिको अस्थायी पुल बगायो

चुमनुव्री गाउँपालिका–३ न्याकचेतदेखि पालिका केन्द्र फिलिम जोड्ने बुढीगण्डकी नदीमाथि बनाइएको अस्थायी पुल बगाएको छ । नदीमा पानीको वहाव बढेर एकतर्फको भाग बगाएर लगेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
‘माथिल्लो क्षेत्रमा हिउ पग्लन थालेपछि बुढीगण्डकीमा पानीको वहाव बढ्यो,’ उनले भने, ‘त्यसले पुलको न्याकचेततर्फको भाग सबै बगायो ।’ आइतवार बिहान पुलको आधा भाग बगाएपछि पालिका केन्द्रमा सवारी आउजाउ ठप्प भएको छ ।

स्थानीय व्यवसायी मिलेर गत चैत्र महिनामा उक्त पुल बनाएका थिए । ह्यूम पाइप र फलाम हालेर बनाइएको अस्थायी पुलबाट चार पाङ्ग्रे सवारी सहजै आउजाउ हुर्दै आएको थियो । तर पुल बगाएसँगै सवारी आवागमन ठप्प भएको छ । पानीको वहाव घटेपछि पुल मर्मतको काम थाल्ने स्थानीयले बताएपनि बर्षातको समय भएकाले तत्काल पुल संचालनमा ल्याउन सक्ने अवस्था नरहेको बताइएको छ । सो ठाउँमा पक्की पुलको माग गर्दै केही दिन अघि पालिका अध्यक्ष निमा लामाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका छन् ।

पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा संघबाट टोलि आएको थियो । तर न्याकचेतपारी बुढीगण्डकी किनारदेखि पालिका केन्द्र फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन । सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आईई स्वीकृत गरी राष्ट्रिय निकुञ्ज बिभाग पठाएको छ, तर हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए । सडक ट्रयाक खोल्नका लागि पालिकाले १ करोड २५ लाख रकम विनियोजन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्