
ठाडो भाका संरक्षणमा जुटौँं
लोक संस्कृतिको अमूल्य धरोहर मानिने ठाडो भाका हाम्रो सांस्कृतिक पहिचानमध्येको एक हो । गाउँघरको जीवनशैली, मायाप्रेम, सुख दुःख अभिव्यक्त गर्ने यो भाकाको छुट्टै महत्व र पहिचान छ । तर यस्ता मौलिक परम्पराहरु ओझेलमा पर्न थालेका छन् । लोप हुने अवस्थामा पुगेका छन् । यसको प्रवद्र्धन र संरक्षणको आवश्यकता छ ।
आधुनिकताको तिव्र प्रभावले पछिल्लो समय हाम्रो मौलिक संस्कृति र परम्पराहरु लोप हुदैं छन् । आधुनिक संगितले लोकभाकाहरु छाँयामा परेका छन् । नयाँ पुस्तामा आधुनिक संगितप्रतिको मोह जाग्नु स्वभाविक हो तर आफ्नो संस्कृतिसँग जोडिएको मौलिकतालाई बिर्सनु भने बिडम्वना हो । ठाडो भाका मनोरन्जनको माध्यम मात्र होइन यो हाम्रो संस्कृति र सामुदायिक एकताको प्रतिक पनि हो । यसलाई बिर्सनु भनेको हाम्रो संस्कृति गुमाउनु मात्र होइन सामाजिक सद्भाव र सम्बन्धलाई गुमाउनु हो भन्दा फरक पर्देन ।
ठाडो भाका संरक्षण र प्रवद्र्धन गर्नका लागि जिल्लामा एउटा टिम संक्रिय रुपमा लागि परेको छ । ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समिति गठन गरेर अघि बढेको यस टिमले यही बैशाख ११ गते जिल्लामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता गर्दै छ । यो प्रतियोगिताले यस्ता मौलिक र परम्परागत संस्कृतिको जर्गेनामा पक्कै सहयोग पु¥याउनेमा दुई मत छैन ।
ठाडो भाका संरक्षणका लागि स्थानीय स्तरबाटै पहल थाल्नुपर्छ । स्थानीय तहहरुले यस्ता प्रतियोगिताहरु आयोजना गर्ने र नयाँ पुस्तालाई समेत सहभागी गराउनु महत्वपूर्ण रहन्छ । स्थानीय पाठ्यक्रममा समेत ठाडो भाका लगायतका लोक संस्कृतिलाई समेट्न सके थप प्रभावकारी हुनेछ । ठाडो भाका जोगाउनु एउटा परम्परा जोगाउनुमात्र नभई हाम्रो मौलिकता र पहिचान जोगाउनु हो । त्यसैले ठाडो भाका संरक्षणमा जुटौँ ।




