| मङ्लबार, बैशाख ७, २०८३

हावाहुरी र बर्षाको बितण्डा : करिव दुई दर्जन घरधुरीसहित सात वटा गाडीमा क्षति

हावाहुरी सहितको असिना पानीले आइतवार जिल्लामा दुई दर्जनभन्दा बढी घरधुरीमा क्षति पु¥याएको छ । बिभिन्न ठाउँका करिव २३ वटा घरधुरीको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकामा मात्रै ११ वटा घरधुरीको छाना उडाएको डिएसपी राजकुमार श्रेष्ठले बताए । त्यस्तै शहिद लखन गाउँपालिकामा छ, गोरखा नगरपालिकामा चार र गण्डकी गाउँपालिकाको दुई घरधुरीमा क्षति पुगेको उनले जानकारी दिए ।

उनका अनुसार पानपा–६ का भोटेकाटेका पूर्णबहादुर श्रेष्ठ बराहटारका रामबाबु सार्की, करनबहादुर आले, वडा नम्वर ९ का अमृत नगरकोटी, भगवती राना, लोकबहादुर राना, सानु लामा, नरबहादुर लामा, खिमबहादुर कुवँर र पार्वती रिजालको घरको छाना उडाएको छ । सोही वडामा रहेको त्रिवेणी माविको चारकोठे भवनको छाना पनि उडाएको बताइएको छ ।

त्यस्तै गण्डकी गाउँपालिका–७ छटिनगैराका श्यामबहादुर चेपाङ र राममाया चेपाङको घरको छाना पनि उडाएको छ ।
यता शहिद लखन गाउँपालिका–३ दोभानस्थित दिपक पाण्डेको बनिरहेको नयाँ घर र पसलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । सोही ठाउँका सुनबहादुर खेवालीको घरको छाना उडाउनुका साथै खेतिवाली समेत नष्ट भएको छ ।

लिलबहादुर खेवाली र होमनाथ लामिछानेको घरको छानामा क्षति पुग्नुका साथै विश्वज्योती अर्याल र सोनुकमल महतको पसलमा क्षति पुगेको छ । महतको पसलको छानासँगै पसलमा रहेको मार्वल र सिसिटिभीमा क्षति पुगेको बताइएको छ । साथै असिनाका कारण गाडीको सिसा समेत फुटेको छ । हावाहुरीका कारण गोरखा नगरपालिका–१३ की प्रतिक्षा दराई, बिष्णुमाया परियार र मझुवा प्रहरी चौकीको मेस भवनको छानामा समेत क्षति पुगेको छ ।

हावाहुरीसँगैको असिनाले ६ वटा गाडीमा क्षति पु¥याएको छ । गोनपा–१३ का दिपक श्रेष्ठ, तुलबहादुर आले, नवराज गुरुङ, शहिद लखन गाउँपालिका–३ का दिनेश जोशी, वडा नम्वर २ का शिव राना मगर र दोभानमा पार्किङ गरिराखेको आँवुखैरेनी–३ का अनिल थापाको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । असिनाका कारण उनीहरुको गाडीको सिसा फुटेका छन् ।

यता हावाहुरीले गोनपा–१४ मा पाँच वटा कुखुराको खोरको छाना उडाएको छ । भट्टवेशीका गुञ्जबहादुर खड्का, गोप्लिङका सुरेश अधिकारी, पियोरवेशीका भिमनिधी पन्तको कुखुराको खोर र सुनिल पन्त र शंकरबहादुर भण्डारीको बाख्राको खोरको छाना उडाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्