| शुक्रबार, बैशाख ३, २०८३

मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड

मनास्लु क्षेत्र नेपालको एक उत्कृष्ट गन्तव्यका रूपमा उदाउँदै छ । पछिल्ला वर्षहरूमा यहाँ भित्रिने पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रमा उत्साह जगाएको छ । मुलुककै प्रमुख आयस्रोतको स्थान ओगटेको पर्यटन क्षेत्र विशेषगरी गोरखाको चुमनुब्री गाउँपालिकाका लागि पनि पर्यटन मुख्य आयस्रोत बनेको छ ।

गाउँपालिकाले पर्यटकबाट लिने प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्कले स्थानीय तहको आन्तरिक स्रोतमा प्रत्यक्ष टेवा पु¥याइरहेको छ । तर, पर्यटकको संख्या बढ्नु मात्र पर्याप्त होइन; यसलाई दिगो बनाउन र राष्ट्रिय आयको बलियो खम्बाका रूपमा स्थापित गर्न ‘गुणस्तरीय पूर्वाधार’ र ‘सम्पदा संरक्षण’ बीचको तालमेल मिलाउनु आजको प्रमुख आवश्यकता हो ।

पूर्वाधार निर्माणमा तीव्रताः पर्यटकका लागि पदमार्गको स्तरोन्नति पहिलो सर्त हो । जोखिमपूर्ण बाटोहरूलाई सुरक्षित बनाउने, ठाउँ–ठाउँमा विश्रामस्थल र सूचना केन्द्रहरू स्थापना गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । सञ्चार सुविधा (इन्टरनेट र मोबाइल नेटवर्क) को विस्तारले पर्यटकलाई सुरक्षित महसुस गराउँछ ।

सुविधासम्पन्न आवास र खानपानः पर्यटकको संख्या बढेसँगै उनीहरूको बसाइलाई सहज बनाउन आधुनिक सुविधायुक्त होटल तथा होमस्टेहरूको विकास हुनुपर्छ । स्थानीय अर्गानिक खानालाई प्रोत्साहन गर्दै सरसफाइ र आतिथ्य सत्कारमा सुधार ल्याउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।

मनास्लु क्षेत्र जैविक विविधता र प्राचीन तिब्बती संस्कृतिको केन्द्र हो । यहाँका गुम्बा, छोर्तेन र परम्परागत जीवनशैली नै पर्यटकका आकर्षण हुन् । विकासका नाममा यी सम्पदाको मौलिकता गुम्न दिनु हुँदैन । वातावरण प्रदूषण नियन्त्रण र पदमार्गमा फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले कडा नीति लिनुपर्छ ।

पदयात्राका अलावा पर्वतारोहण, अनुसन्धान र धार्मिक पर्यटनलाई पनि समेट्नु पर्छ । अन्तर्राष्ट्रिय बजारमा मनास्लुको ब्रान्डिङ गर्न डिजिटल माध्यमको प्रयोग बढाउन आवश्यक छ । पर्यटकले तिर्ने शुल्कको ठूलो हिस्सा उनीहरुकै सुरक्षा, सुविधा र स्थानीय सम्पदाको पुनरुत्थानमा खर्च हुनुपर्छ ।

मनास्लु क्षेत्रको पर्यटन विकासका लागि निजी क्षेत्र, स्थानीय सरकार र संघीय सरकारबीच समन्वय हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्