| शुक्रबार, बैशाख ३, २०८३

खाना स्वाद मात्र होइन, सांस्कृतिक बिरासत पनि हो

खाना केवल स्वाद मात्र होइन, यो हाम्रो भूगोल, इतिहास र पुर्खाको विरासत पनि हो । त्यसैले नयाँवर्षको उमङ्गसँगै गोरखाको ऐतिहासिक रानीपोखरी र पँदेली क्षेत्रमा आयोजना गरिएको रैथाने खाना महोत्सवले स्थानीय खाना प्रेमीहरूमा उत्साह थपेको छ । गोरखा जिल्ला होटल संघद्वारा आयोजित सडक खाना महोत्सव केवल एउटा व्यापारिक मेला मात्र नभएर हाम्रो मौलिक खाना संस्कृति जोगाउने एउटा साङ्केतिक अभियान पनि हो ।

आजको विश्वव्यापीकरणको युगमा हाम्रा भान्साहरूमा बिस्तारै पश्चिमा परिकारले जरा गाडिरहेको छ । पिज्जा, बर्गर र चाउचाउ, थुक्पाको बढ्दो आकर्षणका बीच कोदोको ढिँडो, सिस्नुको तरकारी, गुन्द्रुककको अचार र फापरका परिकारहरू ओझेलमा पर्दै गएका छन् । यस्तो परिस्थितिमा गाउँघरका रैथाने खानालाई बजारको सडकसम्म ल्याउनु र तिनको व्यावसायिक प्रवद्र्धनको प्रयास गर्नु निकै सकारात्मक पक्ष हो ।

कुनै पनि महोत्सवको सफलता त्यसको तामझाममा मात्र होइन, त्यसले समाजमा छोड्ने प्रभावमा निर्भर गर्दछ । महोत्सवले नयाँ पुस्तालाई हाम्रा परम्परागत खानाको पोषक तत्व र सांस्कृतिक महत्वबारे जानकारी गराउने प्रयास गरेको छ । यदि रैथाने खानालाई होटल र रेस्टुरेन्टका नियमित मेनुमा समावेश गर्न सकियो भने, यसले स्थानीय कृषि उत्पादनको माग बढाउँछ र ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याउनेछ । त्यस्तै गोरखा आउने पर्यटकहरूले नयाँ र आधुनिक खाना भन्दा यहाँको स्थानीय र मौलिक स्वाद नै खोज्ने गर्छन । रैथाने खानाको प्रवद्र्धनले फुड टुरिज्मुको ढोका खोल्न सक्छ ।

त्यसैले अब महोत्सवमा रैथाने खानाको शुद्धता कति कायम रह्यो वा उपभोक्ताले कस्तो महसुस गरे, त्यो समीक्षाको पाटो होला । तर, रैथाने खानाको बचाउ गर्नुपर्छ भन्ने जुन चेतना जगाउने प्रयास गरियो, त्यसलाई निरन्तरता दिनु आवश्यक छ । एक दिने वा दुई दिने मेलाले मात्रै लोप हुन लागेको संस्कृति जोगिन सक्दैन ।

तसर्थ, स्थानीय सरकार र सरोकारवाला निकायले यस्ता महोत्सवलाई मौसमी उत्सवमा मात्र सीमित नराखी दीर्घकालीन योजनाका साथ अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्