| शुक्रबार, बैशाख ३, २०८३

जिल्लामा दोस्रो आर्थिक गणना सुरु

वुधवारबाट जिल्लामा दोस्रो आर्थिक गणना सुरु भएको छ । गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगेर तथ्याङ्क संकलनको काम थालेका छन् । जिल्लाभर ६ जना सुपरीवेक्षक र ४१ जना गणक खटिएको जिल्ला आर्थिक गणनाको कार्यालयले जनाएको छ ।

तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ ।

दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना पनि गरिने कार्यालय प्रमुख लोकप्रसाद ढुंगानाले बताए । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्