
बैशाख १८ गतेदेखि २३ औँ सवालाख रोट महोत्सव हुँदै
आगामी बैशाख १८ गतेदेखि २३ औँ सवालाख रोट महोत्सव हुने भएको छ । सिद्धाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा बैशाख १८ देखि २८ गतेसम्म महोत्सवको आयोजना गरिएको हो । गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा नियमित भजन, कृतन, प्रवचन, धार्मिक अनुष्ठान, पूजापाठ गरेर भक्तजनको उपस्थितिमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए ।
महोत्सवको पहिलो दिन गोरखा बसपार्कबाट झाँकी सहितको विशाल शोभायात्रा निकालिने उनले बताए । यात्रापछि झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरुको वरण लगायतका क्रियाकलापहरु हुने केन्द्रले जनाएको छ । गोरखनाथ गुफामा बैशाख १८ गतेदेखि नै निरन्तर स्तुति वन्दना, स्तवन पाठ, गुरु गोरखनाथको विशेष पूजा, देवीदेवताको पूजन, विशेष हवन, मन्त्रजप, दिव्य गुरु आरती लगायत भजनकीर्तन र भण्डारा लगायतका कार्यक्रमहरु संचालन हुने संयोजक अकेलाले बताए ।
राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले महोत्सव गरेर रोट अर्पण गर्दै आएको छ । खाद्यान्नमा बढेको महङ्गीले महोत्सव सम्पन्न गर्न गत वर्षहरुमा भन्दा यसवर्ष खर्च केही बढी लाग्ने आयोजकले अनुमान गरेको छ । रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने केन्द्रको भनाइ छ ।
सिद्धाश्रम शक्ति केन्द्रले २०६० सालदेखि हरेक वर्ष निरन्तर महोत्सव गर्दै आएको छ । ११ दिनसम्म चल्ने महोेत्सवमा हरेक दिन १ लाख रोट गोरखानाथ बाबालाई चढाइने गरिन्छ । नयाँ अन्नको पिठोलाई घ्यूमा पकाएर रोट बनाइ गोरखनाथलाई अर्पण गरेर मात्र आफू खाने धार्मिक विश्वास छ । महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।




