| शुक्रबार, बैशाख ३, २०८३

२०८२ लाई फर्केर हेर्दाः राजनीतिक उथलपुथलले स्मरणयोग्य, अन्य हिसावले नैराश्यता

बिकास मरहट्टा ।
जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलले २०८२ चीर इतिहाससम्म स्मरणयोग्य बन्यो । भदौ २३ र २४ को आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढल्यो । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन भयो । पुराना दलहरुमाथि रास्वपा हावी बन्न पुग्यो । अहिले रास्वपाको बहुमतसहित बालेन नेतृत्वको सरकार छ ।

जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पुराना दलहरुको बिरासत तोड्दै रास्वपाले क्लिन स्विप ग¥यो । गोरखा १ बाट निर्वाचित सुधन गुरुङ अहिले गृहमन्त्री समेत छन् ।भौतिक पूर्वाधार बिकासमा २०८२ सन्तोषजनक भएपनि उल्लेख्य रहन भने सकेन । जिल्ला सदरमुकामको बसपार्कदेखि शक्तिचोकसम्म व्यवस्थित फुटपाथ निर्माण भयो । प्रतिक्षालयचोकदेखि खोलखोलेसम्म फुटपाथ निर्माणको काम अघि बढ्यो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको बिभिन्न ठाउँमा क्यू आर कोड सहितको स्ट्रिट नम्वर राखियो । गोरखा संग्रहालयमा भिजुअल कक्ष थप गरियो । शहिद लखन र भीमसेन थापा गाउँपालिको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गरे । बेनिघाट आरुघाट लार्के सडकका केही नयाँ ट्रयाक खुले । चुमनुव्री गाउँपालिका सडक सञ्जालले जोडियो । सडक ट्रयाक पाङसिङबाट उकालो लाग्यो ।

जिल्लाभर कुल दश किलोमिटर कालोपत्रे थपियो । धार्चेको खोर्लावेशीसँगै केही स्थानमा बेलिब्रिज बने । उत्तरी गोरखामा हाइड्रोहरु थपिए । कर कार्यालय खारेज भएर स्थानीय तहबाटै प्यान कार्ड वितरण थालियो । जिल्ला प्रहरी कार्यालयले हिरासतलाई थप व्यवस्थित बनायो । लाप्राकमा केन्द्रिय प्रशारण लाइनको बिद्युत पुग्यो । उत्तरी गोरखाको सिप्चेतमा नेपाल टेलिकमको फोर जी टावर निर्माणको काम अघि बढ्यो । गोरखा नगरपालिकाको टक्सारमा चौधरी ग्रुपको लगानीमा बन्न लागेको होटल समिटको शिलन्यास भयो ।

खेल क्षेत्रमा भने केही प्रगति देखियो । जिल्लामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिका भलिवल र फुटवल प्रतियोगिता भए । आरुघाटमा गण्डकी प्रदेश स्तरीय भलिवल प्रतियोगिता र गोरखा नगरपालिकाको छेवेटारमा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिताहरु संचालन भए ।

स्वास्थ्यको क्षेत्रमा केही सेवाहरु प्रदेश मातहतका अस्पतालले थप गरे । प्रदेश अस्पताल गोरखाले इण्डोस्कोपी सेवा सुरु ग¥यो भने आँपपिपल अस्पतालमा पोष्टमार्टम सेवा सुरु भयो । निजी लगानीमा बनेको एनपिआई गोरखा अस्पतालले पनि २०८२ सालबाटै सेवा सुभारम्भ ग¥यो । प्रत्येक स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना भयो । गत बर्ष केही भूमिहीन दलितहरुले लालपुर्जा पाए ।

अघिल्ला बर्षका धेरै योजनाहरु यो बर्ष पनि थाति रह्यो । जोखिम वस्ती स्थानान्तरणको काम हुन सकेन । प्रत्येक पटक चुनावी एजेण्डामा नछुटेको गोरखकाली रबर उद्योगले गत बर्ष पनि पुर्नजीवन पाउन सकेन । पालुङटार एयरपोर्ट संचालनको एजेण्डा नारामा मात्रै सिमित बन्यो । बुढीगण्डकी जलबिद्युत आयोजनाको काम एक पाइला पनि अघि बढेन । उल्टो आयोजना कार्यान्वयनका लागि आएको बजेट समेत फिर्ता हुन पुग्यो । छेवेटारस्थित जेष्ठ नागरिक भवन संचालनमा ल्याउने गण्डकी प्रदेशको मन्त्रीपरिषदबाट निर्णय भयो तर कार्यान्वयन हुन सकेन ।

सहकारी चोरीका श्रृंखलावद्ध घटना भए । साइवर अपराध र बैदेशिक रोजगारी ठगिका घटना बढे । गत बर्ष जिल्ला प्रहरी कार्यालयमा चोरीका १९ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै बलात्कारका १३ वटा र बलात्कार प्रयासको ३ वटा मुद्धा दर्ता भएको डिएसपी राजकुमार श्रेष्ठले बताए । बालयौन दुरुपयोगका ४ वटा मुद्धा दर्ता भएको उनले जानकारी दिए ।

विपदमा परि मनास्लु क्षेत्रमा दुई जना बिदेशी नागरिकले ज्यान गुमाउनुप¥यो । एक बिदेशी अझै वेपत्ता छिन् । सात जनाको ज्यान जाने गरी रामशाहघाट मनकामना सडकखण्डमा इभी माइक्रो दुर्घटना भयो । गत बर्षमात्रै सवारी दुर्घटनामा परी १६ जनाले अकालमै ज्यान गुमाउनुप¥यो । ५३ जना घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत बर्ष कुल २४ वटा दुर्घटना भएको थियो ।

गत बर्ष पनि बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आउन सकेन । सधाजस्तै बेमौसमी बर्षाले धानवालीमा अतुलनिय क्षति पु¥यायो । कालोभिरमा चट्टानसहितको पहिरोले आरुघाट लार्के सडकखण्ड अवरुद्ध बन्यो । सडकको वेश नै बगाएका सवारी संचालन ठप्प बन्दै आएको छ ।

ऐतिहासिक लिगलिगे दौड गत बर्ष पनि हुन सकेन । राजनीतिक खिचातानीको असर देखियो । भ्रष्टाचार र अनियमिततामा मुछिएको पृथ्वी नारायण साना सहरी खानेपानी आयोजना गोरखा नगरपालिकाले संचालन गर्ने निर्णयमा अदालतले अंकुश लगाइदियो । यसरी २०८२ समग्रमा उल्लेख्य रहन सकेन । नैराश्यता र निराशावादीको छायालाई २०८२ ले पनि ढाक्न सकेन ।

प्रतिक्रिया दिनुहोस्