| आइतवार, जेष्ठ १६, २०८३

नयाँ बर्ष २०८३ झन् उन्नति, प्रगतिको प्रस्थानविन्दू बनोस्

आजबाट विक्रम संवत् २०८२ सालको अन्त्य भई नयाँबर्ष २०८३ सुरु भएको छ । भनिन्छ, असफलताले सफलताको पाठ सिकाउँछ । विदा हुँदै गरेको २०८२ सालले पनि हाम्रा सामु अनेकौँ अनुभव, चुनौती र सफलताका पाटाहरू छाडेर बिदा भएको छ । आजको यो बिहानी केवल एउटा नयाँ दिनको सुरुवात मात्र होइन, बरु नयाँ सोच, नयाँ सङ्कल्प र नयाँ गन्तव्यतर्फको यात्रा आरम्भ गर्ने एउटा सुन्दर अवसर पनि हो ।

विगतको वर्षमा हामीले कृषि, उद्यम र विकासका क्षेत्रमा जुन खालका सकारात्मक सङ्केतहरू देख्यौँ, ती हाम्रा लागि ऊर्जाका स्रोत हुन् । जिल्लामा भएका नयाँ व्यावसायिक प्रयोगहरू, जस्तै कालो हलेदो, कफी, अलैँची, लिची, तरकारी खेतीको सफलता र बजारको सुनिश्चितताले हाम्रो कृषि अर्थतन्त्रलाई नयाँ दिशा दिएको छ । २०८२ सालमा देखिएका यस्ता सफल अभ्यासहरू नयाँ वर्षमा अझ उन्नत, परिष्कृत र विस्तारित हुँदै जाउन् भन्ने हाम्रो कामना छ ।

नयाँ वर्ष आफैँमा एउटा उत्साहको प्रतीक हो । तर, उत्साह तब मात्र सार्थक हुन्छ जब यसमा कार्यगत तत्परता र जाँगर मिसिन्छ । २०८३ साल केवल शुभकामना आदानप्रदानमा मात्र सीमित नभएर कर्मको वर्ष बन्नुपर्दछ । बितेका असफलताबाट पाठ सिक्दै नयाँ उमङ्गका साथ अघि बढ्नु आजको आवश्यकता हो । युवाशक्तिलाई स्वदेशमै श्रम गर्न प्रेरित गर्ने र सिर्जनशील सोचलाई कार्यान्वयनमा लैजाने जोशको विकास हुनुपर्छ ।

विगतका राम्रा कामहरूलाई संस्थागत गर्दै थप सफलताका सिँढीहरू चढ्न हामी चुक्नु हुँदैन । परिवर्तन बाहिरबाट मात्र होइन, भित्रैबाट सुरु हुनुपर्छ । नयाँ वर्षले हामी सबैलाई आफ्ना कमजोरी सुधार्ने र असल कार्यका लागि कम्मर कस्ने प्रेरणा प्रदान गरोस् । २०८३ सालले हामी सबैमा नयाँ ऊर्जा र सकारात्मक सोचको सञ्चार गरोस् सबैको २०८३ साल । नयाँ वर्षको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्