
गृहमन्त्रीको गाउँ जाने सडक एकसातादेखि अवरुद्ध
‘फिल्डमै खटिएर काम गर्न रुचाउने’ गृहमन्त्री सुधन गुरुङको जन्मथलो सिर्दिबास जाने सडक बिगत एकसातादेखि पूर्ण रुपमा ठप्प छ । बेनिघाट–लार्के सडकको कालोभीरमा चट्टानसहितको सुख्खा पहिरो खसेपछि बिगत छ दिनदेखि यातायात सेवा ठप्प भएको हो ।
धार्चे गाउँपालिका–३ स्थित कालोभीरको पहिरोले सडक अवरुद्ध भएपछि गृहमन्त्री गुरुङको गाउँ चुमनुब्री ३ तथा सो गाउँपालिकाभरिको जनजीवन प्रभावित बनेको वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘बर्खा महिनाका लागि खाद्यान्न ओसार्ने सिजन पनि यही हो । विकास निर्माणको काम धमाधम गर्नुपर्ने सिजन पनि यही हो । पर्यटक हिँड्ने सिजन पनि यही हो’, उनले भने, ‘कालोभीरको पहिरोले गर्दा न खाद्यान्न ढुवानी गर्न सकिएको छ, न निर्माण सामग्री । सबै सामान दोभानमा अलपत्र परिरहेको छ । पर्यटक पनि एक घण्टा पनि नलाग्ने बाटो तीन, चार घण्टा लगाएर हिँडिरहेका छन् ।’ सो पहिरो पन्छ्याएर यातायातका साधन सुचारु गर्न स्थानीय स्तरमा असम्भव रहेको उनको भनाइ छ । ‘सेनाबिना कुनै बिकल्प देखिएएको छैन’, उनले भने ।
पृथ्वीराजमार्गको बेनिघाटदेखि चीनको सीमाना लार्के जोड्ने लक्ष्यसहित सो सडक नेपाली सेनाले निर्माण गरिरहेको हो ।
स्थानीयबासी तथा पर्यटकहरु दोभानस्थित झोलुङ्गे पुल तरेर बूढीगण्डकी पारिबाट पैदल हिड्न बाध्य छन् भने खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानीको काममा बाधा पुगेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको भनाइ छ । ‘२२ गते पनि पहिरो खसेर सडक अबरुद्ध भयो । दिनभर जेसिभी लगाएर साँझबाट गाडी चल्न मिल्ने बनायौँ’, गुरुङले भने, ‘राती फेरि पहिरो गएछ । अहिले त सडकको ‘बेस’ नै बूढीगण्डकीमा झरेछ । माथिबाट अजंगको चट्टानसहितको पहिरो झरेर त्यसको चापले सडकै भासिएर बूढीगण्डकीमा खसेछ ।’
सो ठाउँमा ब्लास्ट गरेर पुनः नयाँ ‘बेस’ निर्माण गर्नुपर्ने उनले बताए । सो सडक निर्माणका लागि प्राप्त यो बर्षको बजेट कार्यान्वयन भइसकेको छ । अब मर्मतसम्भारका लागि आकस्मिक नयाँ बजेट तथा कार्यक्रम आउनु पर्ने हुन्छ । त्यसका लागि नेपाली सेनाको विकास निर्माण निर्देशनालयसंग समन्वय भइरहेको नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिए ।
विकास निर्माण कार्यदलका अनुसार कालोभीरमा करिब ५० मिटर लामो सडक पहिरोले पुरिएको छ । केही भाग माथिबाट झरेको पहिरोले पुरेको छ भने दुई ठाउँमा गरी करिब ४० मिटर सडकको बेस भासिएर गण्डकीमा खसेको छ । त्यसलाई ब्लास्ट गरेर नयाँ बेस बनाउनु पर्ने देखिएको निर्माण कार्यदलले जनाएको छ । पानी परिरहेकाले माथिबाट ढुंगा खसेर अहिले मर्मतको काम गर्न पनि नसकिने कार्यदलको भनाइ छ ।
सो सडक सुचारु गर्न एक महिनासम्म लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ बताउँछन् । पृथ्वीराजमार्गको बेनिघाटदेखि चीनको सिमानामा पर्ने लार्केसम्म १५४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यसहित २०७४ सालदेखि नेपाली सेनाले सो सडक निर्माण गरिरहेको छ । जसमध्य ९७ किलोमिटर अर्थात चुमनुब्री ३ को पाङसिङसम्म ट्रयाक खुलेर सवारी चल्न थालिसकेको छ ।
हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक बिभागलाई हस्तान्तरण समेत गरिसकेको छ । अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सो क्षेत्रमा चार खण्डमा बिभाजन गरी काम भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।




