
चार सन्तान सेनामा कार्यरत रहेकाका आमाहरु सम्मानित
भूतपूर्व नेपाली सैनिकहरुको सम्मेलन सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाममा भएको सम्मेलनमा चार वा चारभन्दा बढी सन्तान नेपाली सेनामा कार्यरत रहेका सन्तानका आमाहरु सम्मानित भएका छन् ।
सो मापदण्डभित्र पर्ने गोरखा नगरपालिका–१० छेपेटारकी बन्ती कुमाल र धादिङ त्रिपुरासुन्दरीकी मतिकुमारी उप्रेतीलाई सम्मान गरिएको उपसम्मेलन केन्द्र गोरखाले जनाएको छ । नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरेका हुन् । त्यसैगरी जेष्ठ एकल महिलाको रुपमा ९७ बर्षीय देवकुमारी श्रेष्ठ सम्मानित भएकी छन् ।
सम्मेलनकै अवसरमा शारीरिक रुपमा अशक्त भूपू सैनिकलाई ह्वीलचियर र बैशाखी समेत वितरण गरिएको छ । भिमबहादुर कुमाल, भुपेन्द्रबहादुर थापा मगर, जनकबहादुर खत्री, हितबहादुर खत्री र मानबहादुर बानियाँले ह्वीलचियर पाएका छन् । सम्मेलनको नारा ‘भूपू सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारको कल्याण र कोषको दिगोपन’ रहेको थियो ।




