| सोमवार, जेष्ठ १०, २०८३

शहिदलखनमा निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु

शहिद लखन गाउँपालिकामा निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा वुधवारबाट शिविर सुरु भएको हो । पहिलो दिन २५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

‘यही चैत्र १७ देखि २१ गतेसम्म हामीले पालिकाको सबै वडामा आँखा परिक्षण शिविर संचालन गरेका थियौ,’ उनले भने, ‘७ सय ३० जनाको आँखा परिक्षण गर्दा ८२ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो, अहिले उहाँहरुलाई नै लक्षित गरि शल्यक्रिया शिविर संचालन गरेका हौ ।’ घैरुङ स्वास्थ्य चौकीमा संचालित शिविर आजसम्म संचालन हुने छ । बाँकीको आज शल्यक्रिया गरिने छ ।

शल्यक्रियाका लागि आउने बिरामीलाई घरबाट ल्याउने लाने व्यवस्था पालिकाले गरेको छ । ‘शल्यक्रियाका लागि त्यही बस्नुपरेमा पनि पालिकाले कुरुवासहित बिरामीलाई खान र बस्नको व्यवस्था गरिदिएको छ,’ श्रेष्ठले भने । वडा स्तरमा भएको आँखा परिक्षण शिविरको क्रममा २०२ जनालाई चश्मा निशुल्क वितरण समेत भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्