
बैशाख २ गतेबाट गोरखामा आर्थिक गणना, विभिन्न १८ क्षेत्रका आधारभूत विवरण संकलन गरिने
आगामी बैशाख २ गतेबाट जिल्लामा दोस्रो आर्थिक गणना सुरु हुने भएको छ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित गणना संचालन गर्न लागिएको हो । गणनामा विभिन्न १८ क्षेत्रका आधारभूत विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।
दर्ता भएका कृषि, वन र माछापालन, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत, ग्याँस, बाफ र वातानुकूलित आपूर्ति, पानी आपूर्तिस ढल निकास, फोहोर व्यवस्थापन र उपचार एवं भवन तथा पूर्वधार निर्माणको क्षेत्र गणनाको दायरा भित्र पर्ने कार्यालय प्रमुख लोकप्रसाद ढुंगनाले बताए ।
यस्तै, थोक तथा खुद्रा व्यापारस मोटर सवारी साधन र मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, आवास र भोजन सेवा, सूचना र सञ्चार, वित्तीय र बीमा सम्बन्धी क्रियाकलाप, घरजग्गा सम्बन्धी क्रियाकलाप, पेसागत, वैज्ञानिक र प्राविधिक क्रियाकलाप, प्रशासनिक र सहयोगी सेवा, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, कला, मनोरञ्जन र मनोरञ्जनात्मक क्रियाकलाप क्षेत्रको विवरण संकलन गरिने उनले जानकारी दिए ।
‘गणनामा आर्थिकदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, जिल्लामा उद्योग र रोजगारी सिर्जनाको अवस्था लगायतका कुरा संकलन गर्छाै,’ उनले भने, ‘उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण समावेश हुन्छ ।’ यसको विश्लेषणबाट राज्यले आगामी दिनमा लिने नीतिहरु निर्माण गर्नका लागि सहज हुने उनको भनाई छ ।
आगामी बैशाख २ गतेबाट असार ७ गतेसम्म संचालन हुने आर्थिक गणनाको तयारी लगभग पूरा भैसकेको कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक गणना संचालनका लागि यही चैत १ गते तथ्याङ्क समन्वय कार्यालयमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । ‘सरकारको कार्यक्रम अनुसार जिल्लामा पनि कार्यालय स्थापना गरेर तयारी तिव्र पारेका छौँ’, जिल्लाका लागि आर्थिक गणना अधिकारी लोकप्रसाद ढुंगानाले भने ।
कार्यक्रम अन्तरगत हालसम्म प्रमुख जिल्ला अधिकारीको संयोजनमा आर्थिक गणना समन्वय समिति गठन, जिल्ला स्तरीय सचेतना गोष्ठी तथा छलफल कार्यक्रम आयोजन लगायतका कामहरु भैसकेको छ । कार्यलयले हाल गणनाको लागि करारमा सुपरीबेक्षक र गणक छनोट प्रक्रियामा रहेको ढुंगानाले बताएका छन् ।
‘जिल्लामा आर्थिक गणनाको लागि ६ जना सुपरीबेक्षक र ४१ जना गणक गरी जम्मा ४७ जना करारमा खटिनेछन् । हाल हामी कर्मचारी छनोट कै प्रक्रियामा छौँ’, उनले भने, ‘चैत २० देखि २२ सम्म प्रारम्भिक छनोटमा परेका गणक र सुपरीबेक्षकहरुको अन्तरवार्ता हुन्छ । अन्तरवार्ताबाट छानिएकाहरुको चैत २६ देखि ३० गते सम्म प्रशिक्षण हुन्छ । त्यसपछि उहाँहरुलाई हामी फिल्डमा खटाउँछौं ।’
गणक तथा सुपरीबेक्षकहरुले विभिन्न पेशा व्यवसाय गरेका जनताका घरघरमा गएर तथ्याङ्क संकलन गर्ने लोकप्रसाद ढुंगानाले जनाए । गणक तथा सुपरीबेक्षकहरु जिल्लाको ११ वटै पालिकाहरुमा पुगेर त्यहाँको स्थानीय सरकारसँगको समन्वयमा टोलबस्तीमा परिचालन हुने छन् । असार ७ गतेभित्रमा सम्पूर्ण तथ्याङ्क संकलन गरेर त्यसको रिर्पोट असार महिनाभित्रै कार्यालयमा बुझाउनु पर्ने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।
जिल्लाबाट प्राप्त विवरणहरु राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइने र उक्त विवरणको तथ्यांक ६ महिना भित्र प्रकाशन हुने कार्यालयको भनाई छ । यसअघि २०७५ मा भएको आर्थिक गणना अनुसार जिल्लामा १० हजार ९७२ प्रतिष्ठान थिए । उक्त प्रतिष्ठानमा ३० हजार ४२३ जना जनशक्ति रहेको तथ्याङ्कमा उल्लेख छ ।




