| शुक्रबार, बैशाख १७, २०८३

गोरखामा रैथाने खाना तथा सडक महोत्सव गरेर नयाँ बर्ष मनाइने

नयाँ बर्षको अवसर पारेर जिल्लामा रैथाने खाना तथा सडक महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा हुन लागेको महोत्सवको यो तेस्रो संस्करण हो ।जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा यही चैत्र ३० गतेबाट दुई दिन महोत्सव संचालन हुने संघले वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ महोसत्व गर्न लागिएको संघका महासचिव सुमन श्रेष्ठले बताए ।

‘नयाँ बर्ष मनाउन भनेर जिल्लावाहिर जाने प्रचलन छ,’ उनले भने, ‘यो परिपाटीलाई अन्त्य गरी जिल्लामै नयाँ बर्ष मनाउने प्रवृतिको बिकास गराउन पनि महोत्सव गर्न लागेका हौ ।’ महोत्सवले रैथाने खानाहरुको प्रवद्र्धन समेत गर्ने उनले जानकारी दिए । उनका अनुसार विपिचोकदेखि ठुलोआँगनसम्म सडकमै रैथाने खानाहरुको स्टलहरु हुने छन् । आवतजावतका लागि बैकल्पिक सडकमार्फत सवारी संचालनको व्यवस्था मिलाइने छ ।

महोत्सव अवधिभर बिभिन्न कलाकारहरुको सांगितिक प्रस्तुती रहने संघका कार्यवहाक अध्यक्ष कृष्णप्रसाद लामिछानेले बताए । चैत्र ३० गते बेलुका द एलिज ब्याण्ड तथा रक्तिम ब्याण्डको बिशेष प्रस्तुती रहने उनले जानकारी दिए । त्यस्तै नेपाल आइडलमा ‘टप फाइभ’ मा पुग्न सफल जिदान गुरुङको पनि प्रस्तुती रहने उनको भनाइ छ । सुभास रेग्मी, मिरा राना मगर, पृथ्वी गुरुङ, हरेराम परियार, राजु थापा, बिनोद ढकाल लगायतका कलाकारहरुको लोकदोहोरी प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

बैशाख १ गते खुल्ला ग्रुप डान्स प्रतियोगिता समेत हुने महासचिव श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । सहभागी हुन चाहनेहरुले चैत्र २९ गतेभित्र समूह दर्ता गराउन आयोजकले आग्रह गरेको छ । दर्ता शुल्क भने नलाग्ने बताइएको छ । गोरखा नगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धन तथा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सहयोगमा महोत्सव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्