
बाह्र किलो बारपाक सडकले पूर्णता पाओस्
ठेकेदारको लापरवाहीको पराकाष्ठ छर्लङ्ग हुने जिल्लाका योजनाहरुमध्ये बाह्र किलो बारपाक सडक पनि एक हो । आठ बर्षअघि सम्पन्न भइसक्नुपर्ने उक्त योजनाले अझै पूर्णता पाउन सकेको छैन । चार खण्डमध्ये लोहनी एण्ड ब्रदर्श प्रालिले जिम्मा लिएको अर्कुलदेखि वालुवासम्मको खण्ड अलपत्र छ । कार्यालयले आठौ पटक म्याद थप गरिसक्यो तर काम थपिएन ।
ठेकेदारको चरम लापरवाहीका कारण स्थानीयले अनावश्यक दुख पाइरहेका छन् । काममा लापरवाही गर्ने ठेकेदारका लागि कानूनी कारवाही फितलो हुनु हुदैन । हुन त कार्यालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडिसकेको छ । तर स्रोत सुनिश्चित नहुँदा नयाँ ठेक्का आव्हान गरेर काम अघि बढ्न सकेको छैन । करिव २९ करोडको स्रोत सुनिश्चितको माग कार्यालयले गरेको छ । तर अर्थ मन्त्रालयबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
काम नगर्ने ठेकेदारलाई पटक पटक म्याद थप गरेर अवसर प्रदान गरिरहनु कार्यालयको पनि कमजोरी हो । तोकिएको समयमा काम नसक्नुमा ठेकेदारको लापरवाही हो वा अन्य कुनै व्यवहारिक कारण त्यसको एकीन गर्न कार्यालयले समयमै सक्नुपर्छ । ठेकेदारको लापरवाही हो भने म्याद थप गरिरहनुको सट्टा ठेकेदारलाई कारवाही प्रक्रिया अगाडी बढाउन सके योजना अलपत्र पर्ने थिएन । बाह्र किलो बारपाक सडकको हकमा पनि यही कुरा लागू हुन्छ ।
लोहनी ब्रदर्शलाई समयमै कारवाही गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएको भए उक्त योजना उहिलै सम्पन्न भइसक्ने थियो ।
अवका दिनमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न सम्बन्धित निकायले खुट्टा नकमाओस् । कारवाहीको हिम्मत देखाउन सके जिल्लाका बिकासे योजना यसरी अलपत्र पर्ने छैनन् । काममा लापरवाही गर्ने ठेकेदारलाई सामाजिक बहिष्कारको अवस्था सृजना नहोस् । ठेकेदारहरु पनि यसबारे सचेत होउन् ।




