| सोमवार, कार्तिक २३, २०८३

रामशाहघाट–मनकामना सडक थप स्तरोन्नती आवश्यक

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने धेरै सडक सञ्जाल छन् । त्यसमध्ये रामशाहघाटबाटको सडक दुरीको हिसावले केही छोटो पर्छ । त्यसैले पनि अधिकांश सवारी सोही सडक सञ्जाल प्रयोग गरेर मनकामना आउजाउ गर्छन् । तर बिडम्वना उक्त सडकमा प्राविधिक त्रुटी देखिन्छ । प्राविधिक परिक्षणमा देखिएको कमजोरी कारण सो सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दो छ ।

केही दिनअघि मात्रै सो सडकखण्डमा इभी माइक्रो सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाए । गत बर्ष सोही सडकखण्डमा भएको इभी माइक्रो दुर्घटनामा एक जनाको ज्यान गयो, बाँकी यात्रु घाइते भए । भिरालो सडक त्यसमाथि जोखिमपूर्ण घुम्तिका कारण पनि सो सडकखण्ड दुर्घटनाको जोखिममा छ । सडक हेर्दा लाग्छ कुनै प्राविधिक जाँच बिना निर्माण गरियो । लापरवाहीको पराकाष्ठ यो सडकमा छर्लङ छ ।

संघीय बजेटबाट उक्त सडक स्तरोन्नती समेत भएको छ । तर जति स्तरोन्नती भएपनि भौगोलिक हिसावमा उपयुक्त हुने गरी सडक ट्रयाक खोलिएको छैन । ठाडो भिरालो त्यसमाथि डरलाग्दा घुम्ति, जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता छ । केही खण्डमा बैकल्पिक सडक सञ्जाल आवश्यक देखिन्छ ।

एक त जोखिमपूर्ण सडक त्यसमाथि चालकको लापरवाही उस्तै । सडकको अवस्थालाई मध्यनजर गर्दै सोही अनुसार सजग भएर चालकले सवारी चलाउनुपर्ने हो । जोखिमपूर्ण उक्त सडकमा गति सिमित गर्नुपर्छ भन्नेबारे चालकलाई बुझाउनु सायदै नपर्ला । तर चालककै लापरवाहीका कारण पनि दुर्घटनाहरु हुने गरेका छन् ।

जे भएपनि रामशाहघाटदेखि मनकामना सडक भौगोलिक र दुर्घटनाको हिसावले जोखिमपूर्ण छ । सो सडकखण्डमा दुर्घटना न्यूनिकरणका लागि सवारीलाई गति सिमित गरी टाइम कार्ड लागू गराउनु एक उपाय हुनसक्छ । ठाउँठाउँमा सडकको अवस्था र गति सिमितका बोर्डहरु राखेर सचेत गराउन पनि सकिन्छ । भिरालो र जोखिमपूर्ण खण्डमा थप स्तरोन्नती गर्नुपर्ने आवश्यक छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्