| बिहिबार, बैशाख १६, २०८३

बाह्र किलो–बारपाक सडक : लोहनी ब्रदर्शसँग ठेक्का तोडियो, अर्थले स्रोत सुनिश्चित नगर्दा अन्योल

आठ बर्षअघि सम्पन्न भइसक्नुपर्ने १२ किलो–बारपाक सडक स्तरोन्नतीको काम अझै सकिएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालिले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । कुल ४६ किलोमिटर दुरीको उक्त सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको थियो ।

बाह्र किलोदेखि मसानेठाटीसम्म पहिलो खण्ड, निवेलदेखि अर्कुल दोस्रो खण्ड, अर्कुलदेखि वालुवा तेस्रो र वालुवादेखि वारपाकलाई चौथो खण्डमा राखिएको थियो । अन्य खण्डको काम सम्पन्न भएपनि लोहनी एण्ड ब्रदर्शले जिम्मा लिएको अर्कुलदेखि वालुवासम्मको तेस्रो खण्डको काम अलपत्र रहेको गोरखा सडक योजनाले जनाएको छ ।

कार्यालयका अनुसार आठ किलोमिटर दुरीको उक्त खण्डमा दुई बर्षभित्र काम सक्ने गरि २०७२ साल असार ३१ गते सम्झौता भएको थियो । पटक–पटक म्याद हुदाँ पनि काम नगरेपछि कार्यालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ‘आठौ पटक म्याद थप गर्दा पनि काम नगरेपछि हामीले १५ दिने सूचना निकालेर ठेक्का नतोड्नुको कारणसहित निर्माण कम्पनीसँग स्पष्टीकरण माग्यौ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘तर निर्माण कम्पनी सम्पर्कमै आएन, अनि ठेक्का तोड्यौ ।’ कुल १२ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

लोहनी ब्रदर्शसँग ठेक्का तोडेको कार्यालयले सो क्षेत्रमा नयाँ ठेक्का आव्हान गर्न सकेको छैन । अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित नहुदाँ प्रक्रिया अघि बढाउन नसकिएको कार्यालय प्रमुख पुनले बताए । ‘करिव २९ करोडको स्रोत सुनिश्चित गरिदिन भनेर हामीले बिभागलाई पत्राचार गरिसकेका छौ, तर अर्थ मन्त्रालयबाट सुनिश्चित भएर नआएका कारण काम अघि बढाउन सकेका छैनौ,’ पुनले भने । सो खण्डको यात्रा कठिन र जोखिमपूर्ण रहेको स्थानीयको गुनासो छ । स्तरोन्नतीका लागि उनीहरुले पटक पटक माग समेत राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्