| सोमवार, कार्तिक २३, २०८३

सिरानचोकमा लालिगुराँस महोत्सव सुरु

सिरानचोक गाउँपालिकामा पहिलो लालिगुराँस महोत्सव सुरु भएको छ । श्रीनाथमण्डली कोट बिकास समितिको आयोजना तथा गाउँपालिकाको प्रवद्र्धनमा सोमवारबाट महोत्सव सुरु भएको हो । बैशाख १ गतेसम्म संचालन हुने महोत्सव अवधिभर बिभिन्न कार्यक्रम एवं प्रतियोगिताहरु संचालन हुने प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद खनालले बताए । ‘१६ दिनसम्म महोत्सव चल्छ,’ उनले भने, ‘त्यो अवधिमा लालिगुराँस पदयात्रासँगै बिभिन्न प्रतियोगिताहरु हुन्छन् ।’

चित्रेपोखरी–गाग्रेडाँडा–श्रीनाथमण्डली–सिरानचोक, थालाजुङ–राम्चे, श्रीनाथमण्डली–सिरानचोककोट, आरुबोट–इलमपोखरी–सिरानचोककोट–श्रीनाथमण्डली र नयाँसाघु–अमरसिंहपार्क–नामरुकदेवी–छोडागुफा–सिरानचोककोट हुदैं श्रीनाथमण्डली रुटमा लालिगुराँस पदयात्रा हुने उनले जानकारी दिए ।

महोत्सव अवधिभर लालिगुराँस फोटो तथा भिडियो प्रतियोगिता संचालन हुने छ । उक्त प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले १ हजार नगद पुरस्कार पाउने छ । त्यस्तै भिडियो/भ्लग प्रतियोगिता अन्तरगत पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

फोटो तथा भिडियो प्रतियोगितामा सहभागी हुन चाहनेहरुले श्रीनाथमण्डली क्षेत्र भित्रको पदमार्ग, ऐतिहासिक पुरातात्विक सम्पदा र लालिगुराँस समेत झल्कने गरि खिचिएको फोटो तथा भिडियो पालिकाको कार्यालयमा पठाउन अनुरोध समेत गरिएको छ ।
आयोजकका अनुसार बैशाख १ गते नयाँ बर्षको अवसर पारेर प्रथम लालिगुराँस दौड प्रतियोगिता संचालन हुने छ ।

सिरानचोक गाउँपालिकाको कार्यालयदेखि उपल्लोपाम, राम्चे, श्रीनाथमण्डली हुदैं सिरानचोककोटसम्मको दौडमा पहिलो हुनेले २० हजार नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक श्रीनाथमण्डली कोट बिकास समितिले जनाएको छ । चैत्र २६ गतेदेखि बैशाख १ गतेसम्म भने स्थानीय कृषि उपज प्रदर्शनी समेत रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्