
सुरक्षा निकायलाई वन डढेलो नियन्त्रणका उपकरण वितरण
डिभिजन वन कार्यालय गोरखाले जिल्लाका सुरक्षा निकायलाई वन डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरण गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठमार्फत ज्रिल्लाका सुरक्षा निकायहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गोरखा गुल्म र नेपाली सेनाको रुद्रध्वज गणलाई हेल्मेट, चस्मा, पन्जा, जेट सुटर, फायर¥याक लगायत विभिन्न आठ प्रकारका अग्नि नियन्त्रण उपकरणहरु वितरण गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । उनका अनुसार सुख्खायाम सुरू भएसँगै वन डढेलोबाट हुने क्षति नियन्त्रणका लागि उक्त सामग्रीहरु प्रदान गरिएको हो ।
आइतबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८२/०८३ समेत स्वीकृत भएको छ । कार्ययोजना अन्तरगत स्थानीय तह र सामुदायिक वन उपभोक्ता समितिहरुसँग समन्वय गरेर डढेलो नियन्त्रणमा आवश्यक सहजीकरण गर्न जिल्लास्तरीय टोली गठन गर्ने निर्णय भएको बताइएको छ ।
यस्तै हरेक वर्ष सुख्खायाम सुरु भएसँगै फागुन र चैत महिनामा डढेलो सम्बन्धी सचेतना अभियान संचालन, प्रज्वलनशील पदार्थ व्यवस्थापन, पर्चा, पम्पलेट, स्टीकर वितरण, द्रुत प्रतिकार्य टोली परिचालन, आवश्यकता अनुसार डढेलो निभाउने कार्य संचालन तथा डढेलो नियन्त्रण सामाग्री वितरण गर्ने निर्णय बैठकले गरेको छ ।




