
चुमनुव्री पालिकाको केन्द्र सडक सञ्जालले जोडियोस्
सबै पालिकाको केन्द्रसम्म सडक सञ्जाल पु¥याउने सरकारको योजना चुमनुव्री गाउँपालिकामा सफल हुन सकेको छैन । भौगोलिक बिकटता त्यसमाथि राज्यको नजर कमै पुग्ने सो क्षेत्रमा सडक ट्रयाक खोल्ने काम त भइरहेको छ, तर पालिकाकै केन्द्रमा पुग्न नसक्दा समस्या छ । बुढीगण्डकी नदीमाथि मोटरेवल पुल अभाव यसको प्रमुख कारण हो ।
नाग्चेत र पालिका केन्द्र फिलिम जोड्ने गरी बुढीगण्डकी नदीमाथि पुल बनेमा पालिकाको केन्द्रसम्म सडक सञ्जाल जोडिन्छ । तर समस्या कँहा छ भने नाग्चेतसम्म सडक पुगेपनि पारी सडक ट्रयाक नभएका कारण पुल निर्माणको काम अघि बढ्न सकेको छैन । त्यसो त पालिकाले सडक सञ्जाल जोड्नका लागि आफ्नो ठाउँबाट प्रयास र पहल गर्दै आएको छ ।
नाग्चेत पारी बुढीगण्डकी किनारदेखि पालिकाको केन्द्रसम्म करिव ४.५ किलोमिटर सडक ट्रयाक खोल्नका लागि बजेट समेत विनियोजन गरिसक्यो । तर राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले निकुञ्ज बिभागको अनुमति कुरेर बसेको छ । अनुमतिका लागि बिभागमा पत्राचार गरेपनि हालसम्म कुनै निर्णय नआउँदा काम अघि बढाउन सकेको छैन ।
बिभागले स्वीकृति दिएमा मात्र पालिकाले सडक ट्रयाक खोल्न पाउँछ । सडक ट्रयाक खुलेपछि बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको बाटो खुल्छ । पुलका लागि संघको टोलिले सर्भे गरेर गइसकेको छ । सडक ट्रयाककै पर्खाइमा उनीहरु छन् । तर सडक ट्रयाक खोल्ने अनुमति बिभागले कहिले दिन्छ थाहा छैन ।
सडक सञ्जाल जोडिए स्थानीयहरु धेरै लाभान्वित हुनेमा दुई मत छैन । आउजाउ देखि सामान ढुवानीमा समेत सहज र सुलभ हुने छ । बिरामी परेकाहरुलाई स्वास्थ्य संस्थासम्म एम्वुलेन्सले पु¥याउन सक्ने वातावरण बन्ने छ । त्यसैले सडक सञ्जाल जोड्नका लागि सम्बन्धित निकायले बाधा अड्चन फुकाउन ढिला नगरोस् ।




