
बाहुबल प्रयोग गरेर झोलुंगे पुलको लठ्ठा तान्दै भोटखोलाबासी
गाउँमा यातायात तथा ढुवानी सेवाबाट वञ्चित भएका भोटखोलाबासी पूर्वाधार निर्माणका सबैखाले सामग्री बाहुबल प्रयोग गरेर ओसार्न बाध्य छन् । सडक सञ्जालले नजोडेको उत्तरी गोरखाका चुमनुब्री गाउँपालिकाका बासिन्दा अहिले पनि पूर्वाधार निर्माणका सामग्री बल प्रयोग गरी बोक्न बाध्य भएका हुन् ।
अहिले धार्चेसंग सीमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नं. ३ सम्म मात्र सडकले छोएको छ । बाँकी ६ वटा वडा सडक सञ्जालबाट टाढा रहेका छन् । ‘भर्जम–लिमी झोलुङ्गे पुलको लठ्ठा गाउँलेहरु सबै मिलेर तानेर ल्याएका छन्’, वडा नं. २ का अध्यक्ष मिङ्ग्युर दोर्जे भन्छन्, ‘यतातिर जुन ठाउँमा पुल बनाउनु परे पनि लठ्ठा गाडीबाट पाङसिङसम्म ल्याएर झार्छ । त्यहाँबाट मान्छेले नै बोकेर ल्याउने हो ।’ गतबर्ष बिहीमा पुल बनाउँदा पनि गाउँलेहरु मिलेर यसरी नै लठ्ठा तानेर ल्याएका उनको भनाइ छ ।
चुमनुब्री गाउँपालिकाको वडा नं. १ (साविकको सामागाउँ गाविस), वडा नं. २ (साविकको ल्हो गाविस), वडा नं. ४ (साविकको प्रोक गाविस), वडा नं. ५ (साविकको बिही गाविस), वडा नं. ६ (साविकको चुञ्चेत गाविस) र वडा नं. ७ (साविकको छेकम्पार गाविस) अहिलेसम्म पनि सडक सञ्जालले जोडेको छैन । सवारी साधन नचल्दा गाउँलेहरुलाई ढुवानीमा सास्ती छ । खाद्यान्न लगायतका सामग्री खच्चडले बोके पनि लठ्ठा जस्ता ठूला र धेरै गह्रुङ्गा सामग्री मान्छेले नै ओसार्नुको बिकल्प छैन ।
सडकले नछोएका ती गाउँबस्तीहरुमा पक्की पदमार्गको पनि व्यवस्था छैन । कैयौं ठाउँमा झोलुङ्गे पुलसमेत छैन । ‘भर्जमबाट लिमी जोड्ने बाटोमा बूढीगण्डकीमाथि झोलुंगे पुल पनि नहुँदा काठको फड्के बनाएर गाउँलेहरु वारपार गर्न बाध्य थिए’, वडाअध्यक्ष मिङ्ग्युर दोर्जे भन्छन्, ‘हिउँदका बेला मुढा तेस्र्याएर वारपार गरे पनि बर्खा लागेपछि बगाइदिन्थ्यो । अनि ल्हीका बासिन्दा पारि लिमी जान नसक्ने, लिमीका बासिन्दा मुख्यबाटो र ल्ही गाउँ आउन नसक्ने अबस्था थियो ।
पुल नहुँदा ल्हीका ७७ घरधुरीका बासिन्दाहरु लिमीमा रहेको बारीमा जान पनि बञ्चित हुन्थे । याक, चौरीलाई चरन, लेक, गोठमा लैजान पनि सक्दैनथे र घाँस दाउरा गर्न पनि कठिन थियो । अब पुल बनेपछि सबैलाई सजिलो हुने भयो ।’ १४८ मिटर लामो पुल बनेपछि गाउँलेलाई सजिलो हुने वडाअध्यक्ष लामाको भनाइ छ । एक करोड ९८ लाख लागतमा सो पुल निर्माणका लागि मनास्लु कन्स्ट्रक्शनले पूर्वाधार विकास आयोजना कार्यालय पोखरासंग ठेक्का सम्झौता गरेको थियो ।




